शुक्रबार, बैशाख ७, २०८१

भारतले जिटुजी मार्फत सम्झौता गरेको रासायनिक मल नदिने

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालय अहिले रासायनिक मलको चरम अभावको पीडामा भौतारिरहेको अवस्था छ । यस अघिका कृषि तथा पशुपन्छी मन्त्री महिन्द्र राय यादवले भारतसँग जिटुजी मार्फत रासायनिक मल ल्याउने भन्दै सम्झौता गरेपनि भारतले रासायनिक मल दिने छाँटकाँट देखाएको छैन ।

भारतले सरकारले जिटुजी मार्फत १ लाख ५० हजार मेट्रिकटन मल दिने भन्दै दुई पक्षीय सम्झौता भएको थियो । भारतले मल नदिने छाँटकाँट देखाएपनि मन्त्री पद धरापमा परेको भन्दै तात्कालिन मन्त्री महिन्द्र राय यादव जेठमा भारत भ्रमणमा समेत गएका थिए । तर उनको रासायनिक मल जिटुजी मार्फत ल्याउने सपना मात्र तुहिएन मन्त्री पद पनि सँगै गएको छ ।

रासायनिक मल अभावकै बहानामा तात्कालिन कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्र राय यादवलाई बर्खास्त गर्नका लागि पार्टी भित्र लविङ्ग गरिरहेको मृगेन्द्रसिंह यादव अहिले मन्त्री भएर आएका छन् । तर उनले पनि रासायनिक मलमा सहजीकरण गर्ने काममा त्यत्ति ध्यान दिन सकेका छैनन् ।

भारतले रासायनिक मल नदिने भएपछि मन्त्रीले सहजीकरण गर्नुपर्नेमा मन्त्रीले ध्यान दिन नसक्दा भारतसँग सम्झौता गरेका वर्तमान कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव गोविन्दप्रसाश शर्मा अहिले तनावमा देखिएका छन् । मन्त्री मृगेन्द्र कुमार सिंह यादव यही बहानामा सचिव शर्माको सरुवा गर्ने तयारीमा जुटिरहेका छन् ।

मन्त्रालय श्रोतका अनुसार मन्त्री यादवले बन मन्त्रालयका सचिव पेम कंडेललाई कृषि मन्त्रालयमा ल्याउने र कृषिका गोविन्द शर्मालाई पशुपन्छी तर्फ सरुवा गर्ने तानावाना बुनिरहेका छन् भने पशुसेवा तर्फका दिपक कुमार खराललाई भने बनमा लैजाने गरी लविङ्ग गरिरहेको श्रोतले बताएको छ ।

प्रकाशित मिति: सोमवार, साउन ९, २०७९