बुधबार, बैशाख १२, २०८१

बागलुङमा सुन्तलाको नर्सरीबाट मनग्य कमाइ

काठमाडौँ । बागलुङका केदार आचार्यले सुन्तलाको बिरुवा बिक्री गरेर मनग्य आम्दानी गरेका छन् । जैमिनी नगरपालिका, १० राङखानीका केदार आचार्यले यस वर्ष नर्सरीबाट राम्रो आम्दानी गर्न सफल भएका छन् ।

२०७३ देखि व्यावसायिक कृषि सुरु गरेका आचार्यले ७७ सालमा नर्सरी सुरु गरेको बताए । अघिल्लो वर्ष पाँच हजार अलैँचीका बिरुवा बेचेर रु २५ हजार आम्दानी गरेको सुनाउदै यस वर्ष सुन्तलाका बिरुवा बेचेर ४ लाख २० हजार आम्दानी गरे आचार्यले बताए । उनले भने वर्ष बेच्न मिल्ने गरी १५ हजार सुन्तलाका बिरुवा तयार गरेको थिए । स्थानीय प्रजातिका सुन्तलाका १५ हजार बिरुवा उत्पादन गर्दा प्रतिबिरुवा रु १८ लागत लागेको छ । १५ हजार बिरुवा उत्पादन गर्दा २ लाख ७० हजार लगानी भएको आचार्यको भनाइ छ ।

सरकारी दररेटअनुसार प्रतिगोटा संस्थालाई रु २५ र व्यक्तिलाई रु ५० मा बेच्न मिल्ने भए पनि सोही दररेटअनुसार बिक्री गर्न नसिकएको आचार्यले बताए । उनले १० हजार बिरुवा रु २७ र अन्य तीन हजार बिरुवा गुणस्तर हेरेर रु ३५, रु ४५ र रु ५० दरले बिक्री गरेका छन् । उनका नर्सरीबाट जैमिनी नगरपालिकाको कृषि शाखा र जैमिनीकै भगवती अलैँची पकेट समूहले पाँच–पाँच हजार बिरुवा खरिद खरेका गरेका छन् । त्यसैगरी कृषि ज्ञान केन्द्र बागलुङले २ हजार ५ सय बिरुवा खरिद गरेको आचार्यले बताए । उनको नर्सरीमा अझै दुई हजार बिक्री गर्न मिल्ने बिरुवा छन् ।

जैविक कृषि फार्म दर्ता गरेर गड्यौला खेती, तरकारी खेती गर्दै आचार्यले पछिल्लो समय नर्सरीबाट समेत राम्रो आम्दानी गर्न थालेका हुन् । उनको नर्सरीमा हिउँदमा बेच्नका लागि ५ सय ओखर र १ हजार किवीका कलमी गरेका बिरुवा तयार भएका छन् । आगामी वर्षका लागि पर्वतको बासखर्कको स्थानीय प्रजाति र तेह्रथुमको खोको प्रजातिका सुन्तलाका १५ हजार बिरुवा तयार हुँदै गरेको उनको भनाइ छ ।

बिजु बिरुवाले लगाएको तीन वर्षमा उत्पादन दिन सुरु गर्ने र सातदेखि १० वर्षमा परिपक्क हुने भए पनि कलमी बिरुवा रोपेकै वर्षमा उत्पादन दिन सुरु गर्ने र तीन वर्षमा राम्रो उत्पादन दिन सुरु गर्ने भएकाले कृषकको रोजाइमा कलमी बिरुवा पर्न थालेको उनले बताए ।
करिब २० रोपनी जमिनमा कृषि गर्दै आएका आचार्यले संरचना र विविध औजारमा मात्र रु ५० लाख लगानी गरेका छन् । जडीबुटी सङ्कलनको काम गर्न थाल्नुभएका आचार्यले आगामी वर्षबाट सतुवा र अस्वगन्धजस्ता जडीबुटीको समेत नर्सरी सुरु गर्ने बताए ।

प्रकाशित मिति: बिहिबार, साउन ५, २०७९