शुक्रबार, चैत्र १६, २०८०

खडेरीका कारण रोपाइँ गर्न नपाएका किसान वर्षा हुँदा खुसी

काठमाडौँ । बुधबार बिहानदेखि सुरु भएको वर्षाले किसानलाई राहत मिलेको छ । बाग्लुङमा खडेरीका कारण रोपाइँ गर्न नपाएका किसानले वर्षापछि धमाधम रोपाइँ थालेका छन् ।

बेँसी खेतमा कुलो र नहरको पानी पर्याप्त हुने भएकाले रोपाइँ भएको भए पनि पाखामा रोपाइँ हुनसकेको थिएन् । सुख्खा ठाउँमा भल छोपेर रोपाइ गर्ने किसान लामो समयको खडेरीका कारण मर्कामा परेका थिए । ३० प्रतिशत खेतमा अझै रोपाइँ गर्न बाँकी रहेको छ ।

“वर्षा सुरु भयो, अब केही दिन पानी पर्छ भनेको रेडियोमा सुनेको छु”, जैमिनी नगरपालिका–९ का किसान टङ्कप्रसाद शर्माले भने , “अब त खडेरीले नसताउला भन्ने लागेको छ ।” यसअिघ रोपाइँ सकेका किसान खेतमा धाँजा फाट्न थालेपछि चिन्तामा थिए । वर्षासँगै खहरेमा पानीको मात्रा बढेको र मूल बढेपछि रोपेको जमिनमा पानी लगाउन सहज भएको बागलुङ नगरपालिका–१२ का खगेश्वर घिमिरेले बताए ।

जिल्लाभर चार हजार २ सय हेक्टर जमिनमा रोपाइँ भएको छभने एक हजार ८ सय हेक्टर खेतमा रोपाइँ हुन बाँकी छ । डाँडाकाँडा र लेक रहेको क्षेत्रमा पानी परेपछि किसानलाई भ्याइनभ्याइ छ । असार अन्तिम साताका लागि रोप्ने तयारीका साथ ब्याड राखेको बीउ बुढिएर रोप्नै नमिल्ने भइसकेको छ । मनसुन सुरु भएको समाचार आएपछि काचोँबाली मकैसमेत थन्क्याएका किसानले समयमा रोपाइँ गर्न नपाएको गुनासो गर्ने गरेका थिए । वर्षासँगै भल छोपेरै भए पनि किसान रोपाइँ गर्न थालेका छन् ।

प्रकाशित मिति: बिहिबार, साउन ५, २०७९