मङ्लबार, बैशाख ११, २०८१

अठार करोडको रासायनिक मल बिक्री

काठमाडौँ । सिरहाको लहानस्थित कृषि सामग्री कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७८/७९ मा रु १८ करोड ३२ लाख मूल्य बराबरको रासायनिक मल बिक्री गरेको छ । सो अवधिमा रु १० करोड ५१ लाखको डिएपी र ७ करोड ८१ लाखको युरिया बिक्री गरेको छ ।

आव २०७८/७९ मा ६ हजार ५ सय मेट्रिक टन युरिया र ५ हजार मेट्रिक टन डिएपी मल बिक्री गर्ने लक्ष्य रहेकामा ४ हजार ९ सय ५४ मेट्रिक टन युरिया र २ हजार ३ सय ५५ मेट्रिक टन डिएपी मात्र आपूर्ति भएको कार्यालय प्रमुख दीपराज पौडेलले जानकारी दिए ।

गत आवमा युरिया ४ हजार ९ सय ५४ मेट्रिक टन र डिएपी २ हजार ३ सय ४८ मेट्रिक टन बिक्री भएको प्रमुख पौडेलले बताएका छन् । यसअघि आव २०७७/७८ मा कृषि सामग्री कम्पनी लहानले रु १९ करोड ६५ लाख ६३ हजारको रासायनिक मल बिक्री गरेको थियो । अघिल्लो आवको भन्दा आव २०७/७९ मा लक्ष्यभन्दा कम मल आपूर्ति भएको थियो । यसरी बर्सेनि रासायनिक मलको माग बढ्दै गए पनि आपूर्ति घट्दै गएकाले समस्या भइरहेको प्रमुख पौडेलको भनाइ छ ।

प्रमुख पौडेलका अनुसार सिरहामा साउनमा मात्र ३० हजार बोरा युरिया मल आवश्यक भएकामा हाल एक बोरा पनि युरिया मौज्दात छैन । डिएपी मल ६ मेट्रिक टन मात्र मौज्दात छ । मल नहुँदा दैनिक किसान रित्तो हात फर्किन बाध्य रहेको प्रमुख पौडेलले बताए । कृषि सामग्री कम्पनी केन्द्रीय कार्यालयबाट मल आउने आश्वासन पाएको र आए लगत्तै कोटा निर्धारण गरी स्थानीय तहमा रहेका सहकारी संस्थाका डिलरमार्फत किसानलाई मल वितरण गरिने कार्यालयले जानकारी गराएको छ ।

धान रोपाइँ गर्ने बेला भएकाले युरिया र डिएपी मलको माग बढे पनि अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धि, ढुवानी आपूर्तिको समस्या, मलको अनियन्त्रित प्रयोग र भारतीय सीमानाकामा भएको कडाइलगायतका कारण सिरहामा युरिया र डिएपी मलको आभाव हुने गरेको प्रमुख पौडलले बताए ।

ल ६० हजार ७ सय ५७ हेक्टर खेतीयोग्य जग्गामध्ये सिरहामा यस वर्ष करिब ५५ प्रतिशत जग्गामा धान रोपाइँ भएको कृषि ज्ञान केन्द्रका प्रमुख नरेन्द्र महासेठले बताए । यस वर्ष समयमा वर्षा नभएकाले एकातिर धान रोपाइँ कम भएको र अर्कातिर सहजरूपमा मल उपलब्ध नहुँदा किसान मारमा परेको उनको भनाइ छ ।

 

प्रकाशित मिति: बुधबार, साउन ४, २०७९