शुक्रबार, बैशाख ७, २०८१

सुदूरपश्चिममा ४३ प्रतिशत धान रोपाइँ सम्पन्न

काठमाडौँ । सुदूरपश्चिम प्रदेशमा डोटीसहित समग्रमा ४३ प्रतिशत जमिनमा धान रोपाइँ सकिएको छ । सुदूरपश्चिम प्रदेश कृषि निर्देशनालयका अनुसार प्रदेशको सबैभन्दा बढी बैतडीमा ८० प्रतिशत खेतमा रोपाइँ भएको छ । डडेल्धुरामा ७० प्रतिशत, अछाममा ६० प्रतिशत, बझाङमा ५० प्रतिशत, कञ्चनपुर र दार्चुलामा ४०–४० प्रतिशत, कैलाली र बाजुरामा ३५–३५ प्रतिशत र डोटीमा २५ प्रतिशत खेतमा रोपाइँ भएको छ ।

यस प्रदेशमा १ लाख ८१ हजार ६ सय ४ हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आए पनि असार १५ गतेसम्म प्रदेशका नौवटै जिल्लामा ४३ प्रतशित क्षेत्रमा मात्रै रोपाइँ सकिएको हो । प्रदेशका नौवटै जिल्लामा सिँचाइको सुविधा नभएकाले वर्षाको पानीले रोपाइँ गर्नुपर्ने बाध्यता छ । ढिलोगरी रोपाइँ सुरु भएकाले धान उत्पादन कम हुने चिन्ता गरिएको छ । उक्त निर्देशनालयका अनुसार यस वर्ष अन्य वर्षको तुलनामा समयमै वर्षा नभएका कारण धान रोपाइँमा ढिलाइ भएको हो । समयमै पानी नपरेका कारण यहाँका ५५ प्रतिशत खेत बाँझै रहेको निर्देशनालयका वरिष्ठ कृषि विकास अधिकृत यज्ञराज जोशीले जानकारी दिए

पछिल्लो केही दिनयता वर्षा हुन सुरु भएपछि रोपाइँ गर्ने प्रतिशत बढ्न थालेको बताएका छन् । डोटीलगायत समग्र सुदूरपश्चिममा असार पहिलो साताबाटै रोपाइँ गरिने भए पनि आकाशे पानीको भरमा रोपाइँ गर्दै आएका यहाँका किसान भने बल्ल धान रोपाइँको काममा लागेको शिखर नगरपालिका–२ का रामबहादुर दडीवानाले बताए । उनका अनुसाार असार पहिलो सातादेखि जिल्लामा रोपाइँको निकै चटारो हुने गर्दथ्यो, ढिला वर्षा भएकाले बल्ल रोपाइँ सुरु भएको छ, अब यो वर्ष खेती पनि ढिलै पाक्छ होला ।”

पहाडी क्षेत्रका बाँकी सात जिल्लामा ६२ हजार ४ सय ४ हेक्टरमा रोपाइँ हुने गरेको निर्देशनालयले जानकारी दिइएको छ । सुदूरपश्चिम प्रदेशमा ७३ हजार ६ सय १७ हेक्टर जग्गामा वर्षभरि सिँचाइ हुने गरेकामा ३६ हजार ४ सय ८३ हेक्टर जग्गामा आङ्शिक सिँचाइको मात्रै सुविधा छ । यस वर्ष यहाँका किसानले बिनामल रोपाइँ गर्न बाध्य भएको अर्का किसान बिक्रमबहादुर थापाले बताए ।

 

प्रकाशित मिति: बिहिबार, असार १६, २०७९