बिहिबार, बैशाख ६, २०८१

पछिल्लो समय हाँसपालनबाट मनग्य आम्दानी गर्दै

काठमाडौँ । पछिल्लो समय हाँसका परिकारको पारखी बढ्दै जाँदा हाँसपालनतर्फ चितवानका किसान आकर्षित हुन थालेका छन् । हाँस पाल्न र बिक्रीका लागिसमेत सहज हुन थालेपछि हाँसपालनतर्फ किसान आकर्षित हुन थालेका हुन् ।

भरतपुर–१९ शारदानगरमा हाँसपालन गर्दै आएका शङ्कर महतोले हप्तामा ५ सय वटा हाँसका चल्ला बिक्री गर्दै आएको बताए । महतोले इमानियल हाँस फार्म तथा ह्याचरी दर्ता गरेर करिब २ हजार हाँस पाल्दै आएका छन् ।

उनले हाँस बिक्री वितरणका लागि बजार सहज भएकाले यसतर्फ आकर्षित भएको बताए । उनले पहिले बुङ्गुरपालन, माछापालन र च्याउ खेती पनि गरेका छन् । विगत दुई वर्षदेखि हाँसपालन सुरु गरेको छु” महतोले भने । हाँसबाट निकै नै सन्तुष्टि मिलेको छ । यसको बजार खोज्न हिँड्नुपरेको छैन । फार्मबाटै बिक्री हुने गरेको छ ।” महतोले आफ्नै फार्मबाट तयारी हाँस, हाँसका चल्ला तथा अण्डा बिक्री गर्दै आएको बताए ।

उनले प्रतिचल्ला १ सय ८० सम्म बिक्री गर्दै आएको बताए । त्यस्तै, हाँसको अण्डा रु ३० प्रति गोटा तथा तयारी हाँस प्रति किलोको रु ३ सय ५० मा बिक्री गर्ने गरेको महतोले बताएका छन् । हाँसको मासु तथा अण्डाबाट धेरै फाइदा हुने भएकाले र हाँसको मासु मीठो हुने भएकाले मानिस फार्ममै आएर हाँस तथा चल्ला र अण्डा किनेर लैजाने गरेका छन्”, महतोले भने । पछिल्लो समय रेष्टुरेन्ट तथा होटलले छोइला बनाउनका लागि समेत हाँसको माग गरेका छन् । धानखेती भएको ठाउँमा माछापालन गर्दा हाँसले धानमा हुने अनावश्यक झारहरु खाने तथा नष्ट गर्ने गर्छ तर धानलाई कुनै पनि नोक्सान नगर्ने बताएका छन् ।

प्रकाशित मिति: मङ्लबार, असार १४, २०७९