काठमाडौँ । अकबरे डल्ले खुर्सानी खेती भोजपुरका कृषकको रोजाइमा परेको छ । बजारमा माग राम्रो भए पनि खुर्सानी खेतीमा कृषकको आकर्षण बढेको हो । भोजपुर नगरपालिकाको बोखिम, दावाँ, भैँसीपङ्खा, पोखरे र रामप्रसाद राई गाउँपालिकाको दलगाउँ, भुल्के, टेम्केमैयुङ गाउँपालिकाको, खावा, कोट, गोगने लेखर्क, अन्नपूर्ण नागीलगायत ठाउँमा खुर्सानीको खेती हुने गरेको छ ।
त्यस्तै षडानन्द नगरपालिका, अरुण, हतुवागढी, आमचोक, साल्पासिलिछो गाउँपालिकाको विभिन्न ठाउँमा पनि खुर्सानीको खेती हुने गरेको छ । यहाँको ७ सय १९ हेक्टर जमिन खुर्सानीको उत्पादनशील क्षेत्र रहेको कृषि ज्ञानकेन्द्र भोजपुरले जानकारी दिइएको छ । अहिले ५ सय ९० हेक्टर क्षेत्रमा यसको खेती भइरहेको केन्द्रको भनाइ छ । विशेष गरेर पौवादुङमा गाउँपालिकाले यसको पकेट क्षेत्र निर्धारण गरेर कृषकलाई यसको खेतीमा प्रोत्साहन गरेको छ ।
खुर्सानी बिक्रीबाट ६ करोड ५० लाख बढी रकम भित्रिएको गाउँपालिकाका कृषि शाखा प्रमुख बर्तेन्द्र राईले बताए । प्रमुख राईले भने हाम्रो गाउँपालिकाको निकै राम्रो आम्दानीको स्रोतका रुपमा अकबरे लिएका छौँ । गएको याममा ६ करोड ५० लाख रकम खुर्सानी बिक्रीबाट भित्रिएको छ ।”
गत वर्ष तीन रोपनीमा खेती हुँदै आएकामा त्यसमा वृद्धि भएर अहिले ४ हजार ५ रोपनी क्षेत्रमा अकबरे खुर्सानीको खेती भइरहेको गाउँपालिकाको कृषि शाखाले जानकारी दिए । खेतीमा विस्तार भएकाले यस वर्ष उत्पादनमा अझ वृद्धि हुने गाउँपालिका शाखा प्रमुख राईले जानकारी दिए । राईले भने । हामीले यहाँ खुर्सानीको पकेट क्षेत्र नै छुट्याएर खेतीमा लगानी गरेका छौँ । गाउँपालिकाले आर्थिक तथा प्राविधिक सहयोग गरेपछि कृषकमा थप उत्साह थपिएको छ । यस याममा १ हजार ५ सय बढी क्षेत्रमा थप विस्तार भएको छ ।
गाउँपालिकाभित्रका १ सय ५० जना बढी कृषकले यसको व्यावसायिक खेती गर्दै आएका छन् । आलो खुर्सानी उत्पादनको सुरुको चरणमा रु ३ सय ५० देखि ४ सय सम्म र धेरै उत्पादन भएपछि रु १ सय ५० देखि २ सय ५० सम्ममा बिक्री हुने स्थानीय कृषकको भनाइ छ । एक रोपनीका लागि ५० देखि ७५ ग्रामसम्म खुर्सानीको बीउको आवश्यकता पर्दछ । उच्च पहाडमा फागुन÷चैत्रमा बीउ राख्ने, चैत्र÷वैशाखमा बेर्ना सार्ने र असारदेखि भदौसम्म बाली लिन कृषकको भनाइ छ ।
कृषिबाट नै कृषकको आर्थिक अवस्थामा सुधार ल्याउने लक्ष्यले यस क्षेत्रमा लगानी बढाएको गाउँपालिकाको भनाइ छ । छ वडा रहेको गाउँपालिकाको भूगोललाई यसको विशेषताका आधारमा छुट्याएर माटो र हावापानी सुदाउँदो खेती लगाउनका लागि प्रोत्साहनमूलक कार्यक्रम ल्याएको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिए ।
हामीले दूरदर्शी योजनाका साथ कृषिसँगै भौतिक तथा शैक्षिक क्षेत्रमा लगानी गरिरहेका छौँ । हामीले यहाँको कुन ठाउँमा कस्तो बाली खेती गर्न सकिन्छ भनेर पकेट क्षेत्र निर्धारण गरेका छौँ । यसैको आधारमा लगानी गछौँ । अहिले आएर कृषकहरुले निकै राम्रो आम्दानी लिदै आएको अध्यक्ष राईको भनाइ छ ।
गाउँपालिकाले वडा नं ३ च्याङ्ग्रे, वडा नं ४ बास्तिम, वडा नं ५ सानोदुम्मा, वडा नं ६ ठूलोदुम्मामा अकबरे खुर्सानी, मौरीपालन र एभोगाडोको खेतीको पकेट क्षेत्र निर्धारण गरिएको छ । त्यस्तै वडा नं २ तिवारी भञ्ज्याङको सडकभन्दा माथिदेखि वडा नं १ श्यामसिलाको वडा कार्यालयमुनिको भूगोललाई आलु, बन्दाकोबी र काउलीको खेतीको पकेट क्षेत्रका रुपमा विकास गर्ने योजनाका साथ काम गरिरहेको छ । वडा नं १ श्यामशिलाको माथिल्लो भेगमा किवी खेतीको पकेट क्षेत्र निर्धारण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिए ।
अरु खुसार्नीको तुलनामा अकबरे खुर्सानीलाई स्वास्थ्यका लागि लाभदायक मानिन्छ । अकबरे खुर्सानीले रगतमा चिनीको मात्रा घटाउनुका साथै यसले हाडजोर्नीलगायतका दुखाई पनि कम गर्ने स्वास्थ्यकमीले बताउने गरेका छन् । यो खुर्सानीले खाना रुचाउने स्थानीयवासीको भनाइ छ । अकबरे खुर्सानी प्रयोग गरेर बनाइएको परिकारमा किटाणुको सङ्क्रमण कम हुन्छ भन्ने गरिन्छ । यसको सेवनबाट पिसावको बिरामीलाई समेत फाइदा पुग्छ । यो खुर्सानीको अचार बनाएर पनि प्रयोग गर्न सकिन्छ । दैनिक जनजीवनमा उपयोगी रहे पनि पछिल्लो समय यसको रैथाने बीउ जात भने लोप हुन थालेको स्थानीयको भनाइ छ ।
Add Comment