शुक्रबार, बैशाख ७, २०८१

मैरवा गाउँमा ड्रागन खेतीबाट मनग्ये आम्दानी

काठमाडौँ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं १८ को मैरवा गाउँमा गरिएको ड्रागनखेतीबाट किसानले मनग्ये आम्दानी गरेका छन् । सोखेती गरेको ठाउँ तुलसीपुर घोराही सडकखण्डको छेउमा पर्ने भएकाले तुलसीपुरबाट घोराही या जिल्लामा लामो तथा छोटो दूरीका यातायात साधनबाट यात्रा गर्ने हुनु वा निजी मोटर कार तथा मोटरसाइकल चढ्ने हुन सबैले त्यो खेती देखेर अचम्म पर्ने गरेका छन् । केही मोटर रोकेर त्यो खेतीको अवलोकन पनि गर्छन् ।

याहाँ पैदलयात्रुदेखि जिल्लाका सरकारी निकायका प्रमुख तथा प्रतिनिधि तथा बाहिरबाट आउने उच्च ओहोदाका व्यक्तिदेखि सर्वसाधारण सबैले सोध्ने तथा अवलोकन गर्ने गरेको पाइन्छ । वर्षौंदेखि खाली तथा उजाड रहेको त्यो ठाउँलाई अहिले हरियालीमा परिणत गरी जिल्लामा नै पहिलोपटक ड्रागन फलको खेती गर्ने सफल हुनुभएको छ, पूर्वमन्त्री लोकेन्द्र विष्ट । ५७ वर्षीय उहाँ विगत चार वर्षदेखि कृषि पेशामा रमाइरहेको बताए ।

कुनैबेला बन्दुक बोक्ने उनका हातले अहिले कुटो, कोदालो बोक्ने गरेका छन् । तत्कालीन नेकपा माओवादी रहेका विष्टको राजनीतिक यात्रा पार्टीका परिचित विष्ट सांसद हुँदै दुईपटक मन्त्री बनेका उनले अहिले ५६ कट्ठा जमिन भाडामा लिएर ड्रागन फलको खेती गरेका छन् । उनले सेतो र रातो जातका ७ हजार बिरुवा लगाएको छ । अहिले ती बिरुवा निकै फस्टाएर फूल फुलेका छन् । अब साउनदेखि फल दिने उनले बताएका छन् । ।

 

ड्रागन फुडको बिरुवा बलियो नहुने भएकाले यसलाई अडाउनका लगि सिमेन्टको सानो खम्बा त्यसमाथि मोटरसाइकलका पुराना टायर पनि राखिन्छ । यसको खेती तराईदेखि भित्रिमधेस तथा १ हजार ५०० मिटरको अग्लो स्थानमा पनि गर्न सकिन्छ । यो फल अहिले नेपालमा विदेशबाट ९५ प्रतिशत आउने गरेको छ । विष्टले तीन जनाको रु १ करोडको लगानीमा यो खेती गरेको बताएका छन् । उनका अनुसार बर्सेनि फल दिनेक्रम बढिरहेको छ ।

विष्टले विगतका वर्षमा ३० क्विन्टलसम्म फल बिक्री गरेर एक वर्षमा रु २० लाखसम्म आम्दानी गर्ने गरेको बताउदैृ यस वर्ष ४० क्विन्टलभन्दा बढी ड्रागनफ्रुट भित्र्याउने अपेक्षा लिएको बताएका छन् ।

फल मात्रै नभए बिरुवाबाट पनि वार्षिक रु पाँच लाखसम्म आम्दानी हुने गरेको छ । “यस वर्ष प्रत्येक बोटमा १० देखि २० वटासम्म फल फलेका छन्”, त्यसले गर्दा यस वर्ष विगतभन्दा उत्पादन बढ्ने अपेक्षा राखेको बताए । प्रत्येक लटमा फूल फुलेको २० दिनसम्ममा फल पाकिसक्छ । एउटा सेतो फल ५०० ग्रामसम्म हुने गर्छ, भने रातो फल ३०० ग्राम तौल हुने गरेको छ । अहिले उनले उत्पादन गरेका बिरुवा दाङ मात्रै होइन, बाहिरी जिल्लामा पनि उत्तिकै बिक्री हुन्छ । करिब रु १ करोड लगानी गरेर विष्टसहित ३ जनाले व्यावसायिक ड्रागनखेती गरेका हुन् । उनले १५ वर्षमा जनही रु चार करोड फाइदा बाँड्ने आफूहरुको लक्ष्य रहेको पनि बताएका छन् ।

ड्रागन फलको खेती अवलोकन गर्न पुग्नुभएका बर्दिया जिल्ला गेरुवा गाउँपालिका–३ का शिवप्रसाद चापागाईंले आफूले पहिलो पटक यस फलको खेती देख्दा अचम्म परेको बताए । उनले भने, मैले त विदेशमा मात्र यसको खेती हुन्छ भन्ने सुनेको थिएँ । दाङमा पनि यसको खेती छ भन्ने थाहा पाएँ र ससुरालीमा आएको मौका छोपी नजिकै ड्रागनको खेती गरिएको छ भनि थाहा पाएँ, त्यसैले अवलोकन गर्न आएको हुँ ।” यो फलको खेतीको महत्व र आम्दानीका बारेमा आम किसानले थाहा पाउनसके यसको बिस्तार गर्न सकिने गाउँपालिका चापागाईं भनाइ छ ।

तुलसीपुर –७ का खुमानन्द अधिकारीले पनि ड्रागन फलको खेती देख्दा आफू पनि लोभिएको सुनाए । उनले भने, यो खेती गर्नुभन्दा पहिले त्यो ठाउँ उजाड थियो । अहिले गरिएको खेतीले हराभरा गराउनुका साथै सबैलाई यो ठाउँमा कसरी यो खेती भएको होला भन्ने आम नागरिकले सोधेको सुन्दा खुसी लागेको बताए । उनले पनि सो खेतीको अवलोन गर्न तथा खेती गर्ने तरिकाबारे जानकारी लिन महिनामा एक, दुई पटक जाने गरेको बताए ।

ड्रागनखेती भित्री तराई–मधेस क्षेत्रमा उपयुक्त हुने भएकाले एकपटक रोपेको बिरुवाले २०/२५ वर्षसम्म फल दिने बताउदै विष्टले रोजगारीका लागि विदेशिने युवालाई रोजगारी दिन देशको अर्थतन्त्रलाई मजबुत बनाउन यस्ता नयाँ खेती गर्नतर्फ सरकारले अभिप्रेरित गर्नुपर्ने जानकारी दिइएको छ ।

प्रकाशित मिति: शुक्रबार, असार १०, २०७९