मङ्लबार, बैशाख ४, २०८१

दोलखामा ९ सय २५ मेट्रिकटन मल भित्रियो

काठमाडौँ । दोलखा जिल्लामा ९ सय २५ मेट्रिकटनभन्दा बढी मल भित्रिएको छ । जिल्लामा कृषि सामग्री कम्पनी लिमिटेड सिन्धुली शाखाले मल आपूर्ति गर्ने जिम्मेवारी पाई मल आपूर्ति गर्दै आएको छ । चालु आर्थिक वर्ष २०७८/७९ को जेठ मसान्तसम्म जिल्लामा नौ लाख २५ हजार १०० किलोग्राम मल भित्रिएको तथ्याङ्क रहेको शाखाका प्रमुख नवराज महतले बताएका छन् ।

उनका अनुसार जिल्लामा उक्त परिमाणअनुसारको युरिया, डिएपी र पोटास मल तथा कृषि चुन आपूर्ति भइसकेको छ । दोलखाको दुई नगरपालिका र सात गाउँपालिकाका सबै स्थानीय तहले सिफारिस गरेका आधारमा अनुदानमा किसानलाई वितरणका लागि उक्त मल नौ वटा नै स्थानीय तहमा आपूर्ति गरिएको शाखाप्रमुख महतले जानकारी दिएका छन् ।

नेपाल सरकारले कृषकका लागि दिएको अनुदानअनुसार युरिया मल ५० केजीको प्रतिबोरा रु ८ सय २४, डिएपी ५० केजीको प्रतिबोरा २ हजार २ सय ८९, पोटास ५० केजीको प्रतिबोरा १ हजार ६ सय ६५ र कृषि चुन २५ केजीको प्रतिबोरा रु १ सय ८५ ले बिक्री गर्नेगरी मल जिल्लामा भित्रिएको हो ।

दोलखामा हाल ३९ वटा सहकारी सङ्घसंस्थाले अनुदानको मल ल्याउने जिम्मा पाएका छन् । अनुदानमा मल वितरणका लागि प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको जिल्लास्तरीय संयन्त्र खारेज भएपछि हाल उक्त काम पालिका उपप्रमुख वा उपाध्यक्ष संयोजक रहनेगरी समितिलाई जिम्मा दिइएको छ । जिल्लामा ९ सय २५ मेट्रिकटन मल भित्रिए पनि कृषकले मागअनुसार मल पाउन नसक्दा मलको अभावसँगै कालोबजारी मौलाएको कृषकको गुनासो गरेका छन् ।

प्रकाशित मिति: सोमवार, असार ६, २०७९