शुक्रबार, चैत्र १६, २०८०

खडेरीले रोपाइँ गर्न समस्या, किसान कहिले पानी पर्ला भनेर आकाश हेर्दै

काठमाडौँ । समयमै वर्षा नहुँदा किसानलाई रोपाइँ गर्न समस्या भएको छ । आकाशे पानीको भरमा धान रोप्दै आएका यहाँका किसान कहिले पानी पर्ला भनेर आकाश हेरेर बसेका छन् । यहाँ अधिकांश क्षेत्रमा आकाशे पानीको भरमा रोपाइँ गर्ने गरिएको छ ।

आषढ महिना रोपाइँका लागि उत्तम समय भए पनि वर्षा नहुँदा समस्या भएको किसानले गुनासो गरेका छन् । ब्याड राखिएको बीउ रोप्न योग्य भए पनि पानीको अभावमा खेत बाँझै रहेको दोगडाकेदार गाउँपालिका–३ श्रीकोटका किसान मानसिंह विष्टले जानकारी दिए । रोप्नका लागि बनाइएको बेर्नासमेत पानीका मूल सुक्दै जाँदा बचाउन मुस्किल भएको छ । उनले भने हाम्रो खेतमा सिँचाइ सुविधा छैन । आकाशे पानी पर्खिरहेका छौँ । अहिलेसम्म धान रोप्न पाएका छैनौँ, बेर्ना सुक्दै गएका छन् ।”

हालसम्म बढीमा १५ प्रतिशतमा मात्रै रोपाइँ भएको अनुमान कृषि ज्ञान केन्द्रले गरेको छ । बेसीक्षेत्र तथा सिँचाइ सुविधा भएका क्षेत्रमा मात्रै रोपाइँ भएको केन्द्रका कृषि प्रचार अधिकृत नरेन्द्रबहादुर चन्दले जानकारी दिएका छन् । रोपाइँका लागि यो उपयुक्त समय हो । वर्षा नहुँदा यो समयमा रोपाइँ गर्न सकिएको छैन । उनले भने , “असारभित्र धान रोप्नका लागि उपयुक्त समय हो तर यो समयमा रोपाइँ गर्न सकिएन भने उत्पादनमा कमी हुन्छ ।” रोप्नका लागि बनाइएको बेर्नालाई एक महिनासम्म रोपिसक्नुपर्छ उनले भने । बेर्नालाई २१ देखि ३० दिनभित्र रोपिसक्नुपर्छ, यो अवधिमा रोप्न सकिएन भने उत्पादन कम हुन्छ ।”

कृषि प्रचार अधिकृत चन्दका अनुसार “बेर्नालाई समयमै रोप्न सकिएन भने पछि गएर धानमा रोगकिराले आक्रमण गर्ने, टुप्पो सुक्नेजस्ता रोग देखा पर्छन् र उत्पादनमा ह्रास आउँछ ।” जिल्लाको सुर्नया नदी किनार, चौलानी नदी किनार, पुर्चौडीको हाट, पाटन, पञ्चेश्वरलगायतका बेँसी क्षेत्रमा रोपाइँ भए पनि अन्य क्षेत्रमा बाँकी छ ।

प्रकाशित मिति: सोमवार, असार ६, २०७९