शुक्रबार, बैशाख ७, २०८१

बर्खाको समय सुरु भएका बेला किसानहरु गहुँ बाली भित्र्याउन व्यास्त

काठमाडौँ । रुकुमको किसानहरु अहिले गहुँबाली भिञ्याउन सुरु व्यास्त भएका छन् । सिस्ने गाउँपालिका १ मा भर्खर गहुँ काट्न सुरु गरिएको छ । बर्खाको समय सुरु भएका बेला वडा नम्बर १ को सबै क्षेत्रमा अहिले धमाधम गहुँ बाली भित्र्याउने चटारो परेको छ । बर्खाको बेला गहुँ बाली भित्र्याउन कुरा सुन्दा अनौठो लागेपनि वडाबासीले वर्षेनी असारको महिनामा गहुँ भित्र्याउने गरेको वडाध्यक्ष रजबहादुर बुढाले जानकारी दिइएका छन् ।

उनकाअनुसार जेठको अन्तिम सातादेखि वडाबासीहरु गहुँ काट्ने र ओत लाग्ने ठाउँमा ओसार्ने काममा व्यस्त छन् । मङ्सिरको महिनामा छरेको गहुँ यहाँ सधै असारमा पाक्छ । वर्षा छिटै सुरु भएको बेलामा यहाँको गहुँ खेतमै कुहिएर काम नलाग्ने हुन्छ भने वर्षा ढिला सुरु भएका बेलामा बाली भित्र्याएर अर्को बाली लगाउन तीन/छ महिना पछि धकेल्ने गरेको वडाध्यक्ष बुढाको भनाइ छ । यस क्षेत्रमा वर्षभरमा एक बाली मात्र अन्न उत्पादन हुँदै आएको छ ।

सिस्ने १ का खेतबारीमा मकैपछि गहुँ लगाउने अवसर कहिल्यै मिल्दैन । एक बाली पाक्न लगभग ८/९ महिना नै लाग्ने गरेको स्थानीयवासीले बताए । वडाध्यक्ष बुढाकाअनुसार अहिले गहुँ लगाइएको बारीमा सिमी वा तोरी छर्नुपर्छ । कि त जग्गा बाँझो राख्नुपर्छ । सोही जग्गामा अर्को वर्ष मकै रोप्न सकिन्छ । अहिले मकै रोपेको जग्गामा अर्को वर्षमात्र गहुँ लगाउन सकिन्छ । यस वडामा वैशाखमा रोपेको मकै कात्तिकमा र मङ्सिरमा रोपेको गहुँ असारमा पाक्ने स्थानीयवासी हिउँसरी बुढाले बताए । यहाँ चिसो ठाउँ भएकाले पनि अन्य ठाउँको जस्तो एक वर्षमा दुई बाली उत्पादन नहुने गरेको उनको भनाइ छ ।

प्रकाशित मिति: आइतवार, असार ५, २०७९