शुक्रबार, चैत्र १६, २०८०

आर्थिक अवस्था उकास्न बाख्रापालनमा महिलाको आकर्षण बढ्दै

काठमाडौँ । पाल्पामा किसानहरु बाख्रापालन व्यवसायमा आकर्षण भएको देखिन्छ । रामपुर नगरपालिका ९ लाम्दीखोला बस्ने मालती भुषालले परिवारको आर्थिक अवस्था उकास्न बाख्रापालनलाई जोड दिँदै आएका छन् । घर खर्च चलाउन दुई–चार पैसाका लागि अरूको निर्भर रहँदै आएकी उनीलाई आफ्नो खर्च आफैँ धान्न हेफर प्रोजेक्ट नेपालले बाख्रा उपहार दिएपछि उत्साह भएकी छन् ।

ग्रामीण भेगका महिलाको जीविकोपार्जन गर्न हेफरले बाख्रापालनलाई प्रोत्साहन गर्दै उपहारस्वरुप दिएको बाख्रालाई राम्रोसँग पालनपोषण गरी आम्दानी बढाउने भुषालले लक्ष्य लिएको छ । उनी भन्छिन् अरूको भरमा रहँदा महिलालाई दुःख छ, घरको काममा मात्रै सीमित बस्दा सधैँ अरूसँगै दुई–चार पैसाका लागि हात थाप्नुपर्ने अवस्था रह्यो, बाख्रा खरिद पनि गर्नु परेन, बाख्रापालन गरियो भने त आफ्नो खर्च हामी आफैँ धान्न सक्छौँ ।”

उनले पालनपोषण गरेर ठूलो बनाएर उत्पादन बढाउने र त्यसलाई बिक्री गरी आत्मनिर्भर बन्ने बताइन। बाख्रापालन गरेर आयआर्जन बढाएर अन्य महिलालाई पनि प्रोत्साहित गर्दै व्यावसायिकरूपमा पहिचान दिनसक्ने गरी काम गर्ने उनको उद्देश्य रहेको बताइन ।

कोपिला खाँण ठकुरीले हेफरले उपहार दिएको एकसहित घरमा हाल सातवटा बाख्रापालन गरिरहेकी छन् । महिलालाई आर्थिक क्षेत्रमा अब्बल बनाउन उपहारका रूपमा दिएको बाख्राबाट धेरै बाख्रा उत्पादन गरेर आफू र परिवारको घरायसी खर्च धान्ने सोच राखेका छन् । अरुको भरमा रहँदा घरपरिवार र समाजमा महिला अपहेलित हुनुपरेको छ । अर्थावस्था बलियो नहँुदा भने कतिपय परिवारमा झै–झगडा हुने गरेको छ । कमाइ नहुँदा महिला हेपिनुपर्ने अवस्था छ । मेहेनत गरेर पालनपोषण गरियो भने बाख्रापालनबाट मनग्य आम्दानी गर्न सकिने कविता गाहाले बताइन् ।

पाल्पाका १० पालिकामध्ये हाल ८ पालिकामा साझेदारीमा कार्यक्रम अगाडि बढेको छ । रामपुर नगरपालिकामा गत असारदेखि नै चलिरहेको छ । गएको असारमा मात्रै यहाँ १ सय २८ वटा बाख्रा र ६ वटा बीउ बोका वितरण गरियो भने हालसालै ३ सय ६१ वटा बाख्रा र १० वटा बीउ बोका वितरण गरिएको छ । साझेदारी कार्यक्रमअन्तर्गत ५० प्रतिशत रामपुर नगरपालिकाको र २५ प्रतिशत प्रशासनिक र कर्मचारीको खर्चसहित केही बचेको रकम कार्यक्रममा लगाउने प्रावधानअनुसार कार्यक्रम चलिरहेको छ ।

समूहमा आवद्ध महिलाको मागका आधारमा बाख्रा वितरण गर्ने, उमेर पुगिसकेपछि र त्यसबाट उत्पादन भएपछि उपहारको रूपमा आफूजस्तै आवद्ध रहेको अर्को समूहका सदस्यलाई उपहारका रूपमा दिने गरी बाख्रा प्रदान गरिएको हेफर प्रोजेक्ट नेपाल पाल्पाका कार्यक्रम अधिकृत शोभाखर न्यौपाने बताएका छन् ।

“लिनेमात्रै होइन कि हामीले उत्पादन गरेका बाख्रा अरूलाई पनि दिन सक्षम छौँ भन्ने संस्कार सिकाउन र बाख्रापालनमा प्रोत्साहन दिनका लागि यो कार्यक्रम सञ्चालन गरिरहेका हौँ, बाख्रापालनबाट महिलाको आयस्तर उकास्न ठूलो टेवा पुग्नेछ”, उनले भने हेफरले २३ वर्ष काम गरेको इतिहासमा बाख्रा उपहार कार्यक्रम प्रभावकारी बनेको र यस कार्यक्रममा महिलाको उत्साजनक सहभागिता रहेको न्यौपाने बताए । महिलालाई सशक्तीकरण गर्न र महिला परनिर्भरता हटाउनका लागि हेफरले नेपालमा बाख्रापालनबाट कार्यक्रम सुरुआत गरेको हो ।

विदेशबाट करिब वार्षिक रु ६ अर्बभन्दा बढीको खसीबोका आयात हुने गरेको छ । यसलाई प्रतिस्थापन मात्रै गर्न सकियो भने पनि राष्ट्रिय आयमा सहयोग पु¥याउन सक्ने भएकाले यसको बजार मूल्य बढ्दै जाँदा बाख्रापालनबाट राम्रो आयस्रोत लिन सकिन्छ भन्ने उद्देश्यले यस कार्यक्रमलाई जोड दिइएको छ । बाहिरी देशबाट बाख्राको आयात बढी हुने भएकाले अहिले बाख्राको बजार राम्रो रहेको हुँदा नेपालमै बाख्रा उत्पादन बढाएर आर्थिक समृद्धि वृद्धि गर्न यो कार्यक्रम ल्याइएको जानकारी दिए ।

 

प्रकाशित मिति: आइतवार, असार ५, २०७९