शुक्रबार, चैत्र १६, २०८०

खेतमा हाल्ने मल छैन, पानी परेर खेतका गरा भरिएपछि मन थाम्न सकिएन किसानले

काठमाडौँ । मनसुन चाँडै सुरु भएपछि भक्तपुरका किसानलाई धान रोपाइँको चटारो परेको छ । भक्तपुरका चारवटै नगरपालिकाका खेतमा यतिखेर धान रोप्ने किसान व्यस्ता देखिन्छ । पानी परेर खेतका गरा भरिएपछि मन थाम्न सकिएन, मल कुरेर बस्न सकिएन, धान रोप्न थाल्यौँ”, चाँगुनारायण नगरपालिका–४ छालिङमा खेतमा रोपाइँ गरिरहेका भक्तपुर नगरपालिकाका किसान कल्पना वासीले बताएकी छन् ।

धानखेतीका लागि नभई नहुने रासायनिक मल अभाव खेपिरहे पनि खेतमा पानी भरिएपछि किसानलाई धान रोप्ने चटारो परेको हो । चाँगुनारायण ९ का किसान रोशन गिरीका अनुसार विगतका वर्षमा असारको पहिलो सातापछि मात्रै रोपाइँ सुरु हुने र असारको १५ ताका किसानलाई चटारो पर्ने भए पनि यस्तै पानी परे यस वर्ष असार १५ सम्ममा भक्तपुरका सबै क्षेत्रमा रोपाइँ सम्पन्न हुने अवस्था रहेको छ ।

कतिपय किसानको धानको बीउ छोटो भए पनि रोपाइँ सुरु गरेका छन् । सिँचाइ अभावमा भक्तपुरमा धेरै आकाशे पानीका भरमा रोपाइँ गर्नुपर्ने अवस्थामा यस वर्ष आकाशे पानीले नै असार नलाग्दै खेतमा पानी भरिएपछि किसान रोपाइँमा लागेका हुन् ।

सूर्यविनायक नगरपालिका ८ नंखेलका किसान सम्पूर्ण थापाले खेतमा काम गर्ने ज्यामी नपाइँदा समस्या परेको बताए । उनले भने खेतमा हाल्ने मल छैन, काम गर्ने जनशक्ति छैन, यस्तो अवस्थामा पनि धान रोप्नै पर्‍यो, मल नपाए यस वर्ष उत्पादन घट्छ ।”

खेतमा काम गर्ने रोपार र लाठे नपाउँदा कतिपय किसान घरमा भएकै जनशक्तिले धान रोपाइँमा जुटेका छन् । रोपाइँमा लाग्ने जनशक्ति नहुँदा खेतमा भरिएको पानी सुक्ला भन्ने डर र चिन्ताले किसानलाई सताएको छ । समयमै पानी परेकाले रासायनिक मल पाइए यस वर्ष धानको उत्पादन बढ्ने आशामा बसेका किसान मल नभए धानको उत्पादन आधा घट्नेमा चिन्ता व्यक्त गर्छन् ।

धान रोप्न र हिलो सम्याउन आवश्यक प्रविधि भित्र्याउनसके जनशक्ति नहुँदा पनि धान उत्पादन बढाउनसक्ने कृषि प्राविधिक हरिकृष्ण नेपालको भनाइ छ । उनले पछिल्लो समय खेतमा काम गर्ने जनशक्ति नहुँदा किसानलाई समस्या परेको भन्दै सरकारले धान रोप्न र हिलो सम्याउने प्रविधि सहुलियतमा ल्याउनसके किसानलई सहज हुने र समयमै धान रोप्न सहज हुने बताए ।

भक्तपुरको व्यासीमा धान रोपाइँ गर्दै गरेका किसान धनकुमार श्रेष्ठले सिँचाइ नहुँदा खेतमा भरिएको पानी सुक्ला भनेर छोटो बीउ रोपेको बताए । विगतका वर्षमा जस्तै पानी ढिला पर्ला भनेर ढिला धानको बीउ राख्ने किसानले पनि छोटो बीउ नै रोप्न थालेका छन् । किसानले यस वर्ष धान रोपाइँ छिटो भएकामा खुसी लागे पनि मल नपाउँदा दुःख लागेको भन्दै सरकारलाई जतिसक्दो छिटो मल उपलब्ध गराइदिन किसानले माग पनि गरेका छन् ।

प्रकाशित मिति: शुक्रबार, असार ३, २०७९