बिहिबार, बैशाख १३, २०८१

रोपाइँ सुरु गर्ने बेलाम मल नपाउँदा किसान निराश

काठमाडौँ । रोपाइँ सुरु गर्ने बेलामा मल नपाउँदा बाँकेका किसान निराश भएका छन् । यहाँका किसानले धानको ब्याडमा चाहिने मलका साथै रोपाइँपछि आवश्यक पर्ने युरिया र डिएपी मल हालसम्म पनि पाउन सकेका छैनन् ।

नेपालगञ्ज १८ लग्दहवाका मनोजकुमार सोनकर ब्याडमा मल हाल्न नपाए बीउ नसप्रिने र उत्पादनमा कमी आउने बताएका छन् । ब्याडमा हाल्ने रासायनिक मल खरिदका लागि दैनिक सयौँ किसान नेपालगञ्जस्थित कृषि सामग्री कम्पनी पुग्ने गरेका छन् । उनीहरू रित्तो हात घर फर्किन बाध्य भएका छन् ।

धानको बीउमा हाल्ने मल नपाएपछि यहाँका किसान भारतीय बजार धाउन बाध्य भएको डुडुवा गाउँपालिका–६ हिरमिनियाका सावितराम यादवले बताए । मुख्य बाली धानको ब्याडमा मल हाल्न नपाउँदा किसान चिन्तित बनेका छन् ।

कृषि सामग्री कम्पनीमार्फत किसानलाई वितरण गरिने अनुदान सहुलियतको मल पर्याप्त आउन सकेको छैन । बाँकेमा धान खेतीका लागि १ हजार २ सय मेट्रिक टन डिएपी, ३ हजार मेटिक टन युरिया र ५० मेट्रिक टन पोटास मल आवश्यक पर्छ । न्यून परिमाणमा मात्र मल प्राप्त भएको कार्यालय प्रमुख रमेश पौडेलले बताएका छन् ।

बाँकेका १ सय ७ सहकारी संस्थामार्फत किसानलाई मल वितरण गर्दै आएको कार्यालयले जानकारी दिएको छ । प्रदेश कार्यालय भैरहवाबाट प्राप्त भएको मल सबै स्थानीय तहमा वितरण गरिरहेको भए पनि आवश्यकता भन्दा न्यून मल पाएपछि किसानलाई कसरी मल वितरण गर्ने भन्ने समस्या भएको जनकल्याण सहकारी संस्था कोहलपुरका अध्यक्ष हरिबहादुर श्रेष्ठले बताए । हाल ३ सय ३५ टन डिएपी मल प्रदेश कार्यालय भैरहवाबाट प्राप्त भएको र सोहीअनुसार आउने क्रममा रहेको उनले बताए । युरिया तथा पोटास धान रोपाइँको समयमा आउने प्रदेश कार्यालयले जानकारी गराएको छ ।

प्रकाशित मिति: बिहिबार, असार २, २०७९