बिहिबार, चैत्र १५, २०८०

दाङको विजौरीमा फस्टाउँदै ‘ड्रागन फ्रुट’

काठमाडौँ । दाङको तुलसीपुर उपमहमानगरपालिका १८, विजौरीमा पूर्वमन्त्री लोकेन्द्र विष्ट मगरले गरेका ड्रागन फ्रुट खेती फस्टाउदै गएको छ ।  लामो समय राजनीति गरेका पूर्वमन्त्री लोकेन्द्र विष्ट अहिले कृषि खेतीमा रमाइरहेका छन्  । उनले लगाएको ‘ड्रागन फ्रुट’ अहिले राम्रोसँग फस्टाउँदै गएको छ ।

‘सूर्यमुखी’ झै सूर्यतिर फर्किएका ड्रागन फूल हेरेर अहिले उनी खुशी भएको बताउछन् । राति फूलको कोपिला लाग्दा बिहान फूल आउँछ भन्ने थाहा पाएँ, उनले भने यही भएर बिहान खुसीका साथ सबेरै उठ्दा फूलेका ड्रागनका फूल देखेर निकै खुसी भएँ । ड्रागन फ्रुटलाई रातको रानी भनेर पनि चिनिन्छ । किनकी राति नै ड्रागन फ्रुट फुल्ने गर्छ । त्यो फूल लामो समय रहदैन । सोमबार बिहान फुलेको त्यो फूल मङ्गलबार बिहानसम्म ओइलिसक्छ ।

यो वर्ष विगतका वर्ष भन्दा बढी नै फूलेको छ । जहाँ फल लागेको हुन्छ्, त्यहाँ फूल फुल्ने गर्छ । विष्टले दुई प्रकारका ड्रागन फ्रुट रोपेका छन् । उनले सबै भन्दा धेरै ‘रातोमा सेतो’ वाला रोप्नु भएको छ भने त्यही फार्ममा ‘रातोमा रातो’ ड्रागन फ्रुट पनि रोपेका छन् । रातोमा सेतो जातले फल दिन थालेको यो तेस्रो वर्ष हो । तेस्रो वर्षको यो दोस्रो लट हो । साथै ‘रातोमा रातो’ जातले फल दिन थालेको यो दोस्रो वर्ष हो । प्रत्येक वर्ष जेठदेखि कात्तिकसम्म फल दिने बताउदै यो फुडले बीचमा ६ लटसम्म वर्षमा फल लिनसकिने विष्टको भनाइ छ ।

विष्टले वर्सेनि फल दिनेक्रम बढिरहेको बताउदै विगतमा ३० क्वीन्टलसम्म फल भित्रउन सफल भएको बताए । उनले यसवर्ष ४० क्वीन्टलभन्दा बढी ड्रागन फ्रुट भित्र्याउने अपेक्षा लिएको बताए । “यस वर्ष प्रत्येक बोटमा १० देखि २० वटासम्म फल फलेका छन्”,उनले भने त्यसले गर्दा यसवर्ष विगतभन्दा उत्पादन बढ्ने अपेक्षा छ ।” प्रत्येक लटमा फूल फुलेका २० दिनसम्ममा फल पाकिसक्छ । एउटा सेतो फल ५०० ग्रामसम्म हुने गर्छ भने रातो फल ३०० ग्रामम्म हुने गरेको उनले बताए । विष्टले तुलसीपुर उपमहानगरपालिका–१८ विजौरीस्थित खाली जग्गालाई भाडामा लिएर ड्रागन फ्रुट खेती गरिरहेका छन् ।

ड्रागन फ्रुट खेतीबाट उनले वार्षिक २० लाखसम्म आम्दानी गर्दै आएको छ । फल मात्रै नभए बिरुवाबाट पनि वार्षिक ५ लाखसम्म आम्दानी हुने गरेको उनले बताएका छन् । अहिले उनले उत्पादन गरेका बिरुवा दाङ मात्रै होइन्, बाहिरी जिल्लामा पनि उत्तिकै बिक्री भएको पाइन्छ । करिब १ करोड लगानी गरेर विष्टसहित तीन जनाले व्यावसायिक ड्रागन खेती गर्न लागेको छ । यसअघि पनि उनी कालो धानको खेती गरेर चर्चा कमाएका थिए । उनले ३ बिघा ६ कठ्ठा जग्गामा ड्रागन फ्रुट खेती गरेका छन् ।

प्रकाशित मिति: मङ्लबार, जेष्ठ ३१, २०७९