बिहिबार, चैत्र १५, २०८०

तत्काल किसानलाई रासायनिक मल उपलब्ध गराउन सांसदहरुको माग

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले आइतबार सरकारलाई विशेष निर्देशन दिँदै तत्काल किसानलाई रासायनिक मल उपलब्ध गराउन आग्रह गरेका छन् । खेतीपातीको मौसम सुरु भएको बेलामासमेत मल नपाएपछि किसान मात्रै होइनन्, राजनीतिक दल र सांसदलाईसमेत मलको हाहाकार भएको छ ।

प्रमुख खेती धानबाली लगाउने समयमा रासायनिक मलको उपलब्धता नभएको हुनाले तत्काल सरकार–सरकारबीचमा समझदारी गरेर रासायनिक मलको खरिद गरी किसानलाई आवश्यक मलको व्यवस्था गर्न र दीर्घकालीन भण्डारको समेत व्यवस्था गर्नु आवश्यक छ ।

नेकपा एमालेका सांसद विशाल भट्टराईले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ७८ बमोजिम अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल गर्न बैठकको कार्यक्रम स्थगित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।

संसद्का नियमित काम कारबाही रोक्नुपर्ने उनको प्रस्तावमा उल्लेख गरेको छ । नेपालका ६० प्रतिशत बढी नागरिक कृषि पेशामा संलग्न छन् । नेपालको कूल ग्रार्हस्थ उत्पादन जीडीपीमा कृषि क्षेत्रको २७ प्रतिशत योगदान रहेको कृषि उत्पादनको मुख्य बाली धानबाली हो र जीडीपीमा धानको योगदान ७ प्रतिशत छ । धानबालीलगायत अन्य बालीको उत्पादन वृद्धिको लागि रासायनिक मल नभइ हुँदैन । सरकारसँग ६ महिनाका लागि भण्डारण गर्न सक्ने गोदामसमेत छैन । देशभर सरदर ५० लाख मेट्रिकटन मल आवश्यक पर्दछ ।

सरकारले आगामी आर्थिक वर्ष आयात ३० प्रतिशतले घटाउने लक्ष्य राखेको छ । उत्पादन बढाउनेदेखि कृषि क्षेत्रमा लगानी प्रवद्र्धन गर्ने लक्ष्य समेत राखेको छ । तर, खेती लगाउने समयमा मल नपाएपछि नागरिकको तहबाट सरकारको आलोचना हुनु स्वभाविक छ । रासायनिक मललाई अत्यावश्यक वस्तुको रुपमा ऐनमा परिभाषित गरी छिटो प्रक्रियाबाट ल्याउने गरी कानुनमा सुधार जरुरी छ ।

सरकारको नीति तथा कार्यक्रम र बजेटमाथिको छलफलका क्रममासमेत के सत्तापक्ष के प्रतिपक्ष सबैले सरकारको एकै स्वरमा ध्यानाकर्षण गराए र भने “सरकार किसानले कहिले पाउँछन् रासायनिक मल ?

कृषिमन्त्री महिन्द्रराय यादव भारतसँग सरकारीस्तरमा नै रासायनिक मल ल्याउने उद्देश्यका साथ भ्रमणमा जानु भएको थियो । भारत सरकारका अधिकारीसँग छलफल सकारात्मक भए पनि परिणाम भने हासिल हुन नसकेको बताए ।

प्रतिनिधिसभाको बैठकमा शून्य समय, विशेष समयमा समेत यस विषयले प्राथमिकता पायो । रासायनिक मलको विषय सरकारको विषय मात्रै नभइ सबै नागरिकको विषय भएको तथ्य पेश गर्दै नेपाली कांग्रेसका सांसद पुष्पा भुसालले भने सरकारले आगामी आवको बजेटमा कृषि क्षेत्रलाई विशेष प्राथमिकतामा राखेको छ ।

सांसद भुसालले देशभित्र रासायनिक मल कारखाना स्थापनाका लागि पहल गर्नुपर्नेमा जोड दिनुभयो । सांसद पदम गिरीले रासायनिक मल नपाउने अवस्थाको तत्काल अन्त्य गर्न सरकारको ध्यानकर्षण गराउदै किसानले अझै पनि रासायनिक मल नपाउने भए हँसिया, हलो जुवा लिएर प्रदर्शन गर्छन् । त्यसमा आजै ध्यान दिन आग्रह गरेका छन् ।

 

सांसद अमनलाल मोदीले महत्वपूर्ण विषयमा छलफल गर्ने बाहानामा सरकार र संसद्को नियमित काम कार्बाहीलाई प्रमुख प्रतिपक्षले अवरोध गर्ने अभिप्रायका साथ प्रतिनिधिसभाको छलफल स्थगनको प्रस्ताव गरिएको बताउदै किसानलाई मल चाहिएको छ, हामी त्यसमा सबैको मतैक्य रहेको बताए ।

सरकारले जि टु जीमार्फत ल्याउने भनेको मलको विषय के हो ?

चीनबाट ल्याउने भनिएको प्रस्ताव कहाँ पुग्यो भनेर सदनलाई जानकारी गराउनुपर्छ । ठेक्का पाएका ठेकेदारले काम नगर्दा मलको समस्या जल्दोबल्दो रुपमा उठेको भन्दै बदमासी गर्नेलाई कार्बाहीको दायरामा ल्याउन सांसद दुर्गा पौडेलले आग्रह गरेका छन् ।

खेतीपातीका समयमा सधैँ जस्तै यसपटक पनि रासायनिक मलको हाराहार भयो । नेपालमा रासायनिक मल कारखाना स्थापनाको बहस सुरु भएको पनि ४० वर्षभन्दा बढी भयो । नेपालमा पञ्चायतकाल देखि नै मल कारखाना स्थापनाको विषयमा चर्चा र परिचर्चा भएको थियो । अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको वृद्धि भएको दाबी पनि गरिएको छ । तर पनि सरकारले किसानलाई रासायनिक मल उपलब्ध गराउन सकेको छैन । सरकारले प्रयास गरिरहेको भए पनि परिणाम हासिल नभएपछि काम गरेको प्रमाणित हुँदैन । नेपालमा मनसुन सुरु भइसकेको छ ।

प्रकाशित मिति: सोमवार, जेष्ठ ३०, २०७९