शुक्रबार, चैत्र १६, २०८०

आधुनिक कृषि प्रविधिसँग जोड्दै, उत्पादनमा वृद्धि

काठमाडौँ । सिन्धुपाल्चोकमा कृषकहरुलाई आधुनिक कृषि प्रविधिसँग जोड्दै उत्पादनमा वृद्धि गर्ने उद्देश्यले पाखरदोभान कफी सहकारी संस्था लिमिटेडले आफ्ना सदस्यलाई कृषि सामग्री वितरण गरेको छ ।

सहकारीले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, सिन्धुपाल्चोकको सहकार्यमा कृषि ज्ञान केन्द्र, काभ्रेको सहयोगमा उक्त सामग्री हस्तान्तरण गरिएको सहकारीका अध्यक्ष भूपेन्द्र भण्डारीले जानकारी दिइएका छन् । कफी उत्पादनको पकेट क्षेत्ररुपमा परिचित रहेको उक्त सहकारीले आइतबार विभिन्न किसिमका सामग्री हस्तान्तरण गरेको हो । किसानलाई ५० प्रतिशत अनुदानमा ३५ थान मिनिटिलर, सिँचाइका लागि सात थान पानीट्याङ्की, ५० थान ब्याट्री स्पेयर तथा १ सय ८० थान कैँची तथा करौती वितरण गरेको छ ।

सुनकोसी गाउँपालिकाका अध्यक्ष टपेन्द्र तिमल्सिनाले पालिकाले अबको बजेटमा कृषिलाई पहिलो प्राथमिकतामा दिने जानकारी दिएका छन् । उनले गाउँपालिकाको भूभागमा कफीको लागि निकै नै उत्कृष्ट हावापानी रहेको बताउर्दै कफीको उत्पादन बढाउने योजना रहेको प्रतिबद्धता गरेका छन् । सुनकोसी गाउँपालिका कफी उत्पादनको हिसाबले अग्रस्थानमा रहेको स्थानीय तह हो ।

कफी प्रशोधन र ब्राण्डिङ गरेर सिन्धु अर्गानिक कफीको रुपमा जापान, दक्षिण कोरिया, अमेरीका तथा अष्ट्रेलिया निर्यात हुनेगरेको छ । सुनकोसी गाउँपालिकामा मात्रै ३ सय रोपनी जग्गामा कफी खेती गरेर ४ सय ५० परिवार आश्रित भई आम्दानी गरिरहेका छन् ।

प्रकाशित मिति: सोमवार, जेष्ठ ३०, २०७९