बिहिबार, चैत्र १५, २०८०

हावाहुरीले केराखेतीमा नोक्सानी गरेपछि किसान पीडामा

काठमाडौँ । कैलालीमा शनिबार बेलुका आएको हावाहुरीले ठुलै क्षति पुराएको छ । हावाहुरीकै कारण जिल्लामा केराखेतीका क्षति भएको छ । हावाहुरीका कारण टीकापुर क्षेत्रमा मात्रै सयौँ बिघा केराखेती नष्ट भएको किसानको गुनासो छ । टीकापुरका केरा किसान टेकेन्द्र धामीको १० बिघामा लगाएको केराखेती हावाहुरीले ढालेको छ ।

केरा उत्पादन हुने समय नजिकिँदै गर्दा हावाहुरीले केराखेतीमा नोक्सानी गरेपछि किसान पीडामा परेका छन् । टीकापुर केराखेतीका लागि उर्वर भूमि मानिन्छ । यहाँ सयौँ बिघा जमिनमा खेती गरिएको छ । हावाहुरीले कतिपय किसानका पूरै बारी ढालेको छ ।

यसका साथै हावाहुरीले तरकारी खेतीमा समेत नोक्सानी गरेको किसानको गुनासो रहेको छ । “लहरे तरकारी बाली सबै ढालेको छ । लटरम्म फलेका बोडी, फर्सी, काक्रा, लौका, करेलाजस्ता तरकारीमा नोक्सान भएको छ । किसान झपिन्द्र चौधरीले भने तरकारी बारी पूरै हावाहुरीका कारण धुलाम्मे भएको छ । माटो र बालुवा आएर बारीमा भरिएको छ ।

 

हावाहुरीले रुख ढालेपछि टीकापुरमा दुई घरमा पूर्ण क्षति भएको छ । हावाहुरीका कारण टीकापुर–१ विशालनगरका भरत विकको तीनकोठे कच्ची घरमा रुख ढलेर क्षति भएको छ ।

त्यस्तै टीकापुर–४ का भल्लुराम चौधरीको दुईकोठे कच्ची घर र भान्सामा रुख ढलेर क्षति भएको छ । हावाहुरीका कारण यहाँ सयौँ घरका छानामा भएका जस्तापाता उडाएका, विद्यालयका छाना उडाएका र ठाउँ–ठाउँमा बिजुलीका पोल ढलेका छन् ।

हावाहुरीका कारण क्षति भएका विवरण आइरहेकाले क्षतिको विवरण सङ्कलन गरी नगरपालिकाले पीडामा रहेका किसानलाई राहतका कार्यक्रम ल्याउने टीकापुर नगरउपप्रमुख खड्कबहादुर शाहले बताइएका छन् । जताततैबाट क्षति भएको विवरण आउन थालेका छन्आ उनले भने कार्यपालिका बैठक र विपद् व्यवस्थापन समितिको बैठक बसेर राहतका कार्यक्रम ल्याउँने तयारी गरिएको बताएका छन् ।

प्रकाशित मिति: आइतवार, जेष्ठ २९, २०७९