मङ्लबार, बैशाख ११, २०८१

राम्रो उत्पादन नहुँदा, किसानहरु चिन्तित

काठमाडौँ । पहिलेपहिले घरेलु मल प्रयोग गर्दा कृषिउपजको उत्पादन राम्रो हुन्थ्यो । राधिकालाई आजकल खेती लगाउने समय आएपछि खुसी होइन, चिन्ताले सताएको छ । जति मिहेनत गरे पनि राम्रो उत्पादन नहुँदा किसानहरु मर्कामा गर्ने गरेका छन् । तर खेती नगरी सुख पनि छैन । खेतीपाती लगाउने समयमा कुनै वर्ष खडेरी परेर उत्पादन कम हुन्छ भने कुनै वर्ष अत्यधिक वर्षा भएर त्यसैले पिरोल्छ ।

कृषिबाटै आफ्नो जीविका चलाइरहेका थाहा नगरपालिका, पालुङको कृषक समूहका अध्यक्ष मधुकरविक्रम श्रेष्ठको हालत पनि उस्तै भएको छ । पहिला एकनासले बाली भित्र्याइने गरेकामा हिजोआज पहिलाको जस्तो हुँदैन । उनी भन्छन् आजभोलि त युरिया मल नहाली खेतीपाती भित्र्याउने त कल्पना पनि गर्न सकिँदैन । तीस वर्ष अगाडि प्राङ्गारिक मल मात्र राखेर गोडमेल गर्दा मात्र पनि राम्रो बाली हुन्थ्यो ।” आजकल विभिन्न खालका रासायनिक मल प्रयोग गर्दा पनि बाली हुर्काउन हम्मेहम्मे पर्ने गरेको उनले अनुभव सुनाए ।

हेटौँडा–१९ का पर्शुराम कार्की पनि उस्तै समस्यामा परेको सुनाए । खेती लगाई सकेपछि समयमा रासायनिक मल नपाउँदा बाली सबै डढ्ने गरेको छ । बजारमा सहजरुपमा रासायनिक मल पाइँदैन । हरेक वर्ष खेतीपातीको समयमा मलकै आवश्यकता बढी हुन्छ । नीति निर्माण गर्ने मानिसदेखि कृषकले पनि यसैमा ध्यान दिएकै हुन्छन् तर समस्या सधैँ जस्ताको त्यस्तै रहेको हुन्छ । जुन कहिल्यै समाधान हुन सकेको छैन । समयमै सरकारले मल उपलव्ध गराउन नसक्दा धेरै किसान मर्कामा परेका छन् ।

पहिला गाईबस्तुको मात्र मल प्रयोग हुँदा बालीनाली पनि राम्रो हुन्थ्यो । किरा लाग्ने, बाली मर्नेजस्ता समस्या थिएनन् । जमीन पनि उर्बर थियो । पछिल्लो समय बालीमा युरिया मलको प्रयोग बढेपछि जमीन सुख्खा हुने, अनावश्यक झारपात उम्रने, लाइकिरा लाग्ने, बाली टिप्ने बेला नै नभई कुहिनेजस्ता समस्या बढ्दै गएको कृषक कार्कीको अनुभव रहेको छ ।

उन्नत जातका भनी ल्याइएका बिउबीजन नराम्रो पर्दा त्यसले दिएको तनाव त भनिसाध्ये छैन । उन्नत बीउ भनेर लगाइएको मकैको समेत समयमा घोका लाग्दैन । देखिन ठूला घोगा देखिए पनि दाना नलाग्ने अवस्था छ । न त कृषि प्राविधिकले यसका बारेमा केही बताउँछन्, न त सरकारी निकायले नै यसमा परीक्षण गर्छ ।

पहाडी क्षेत्रमा सामान्यतया खेती लगाउने समय भनेको फागुन, चैत र वैशाख महिना हो । यही समयमा मकै बाली लगाइन्छ । असारमा मकै भित्र्याइसकेपछि कोदो, तोरी, फाफर आदि लगाइन्छ । कात्तिक वा मङ्सिरको पहिलो साता सो बाली भित्र्याइन्छ । तर, आजभोलि यो चक्र बिथोलिएको भएको छ । धानको अवस्था पनि उस्तै समस्या उत्पन्ना भएको छ । बाला नलाग्ने जस्ता समस्या बढ्दै गएको छ । स्थानीय बिउबीजन त उपलब्ध हुनै छाडेको छ । परम्परागत प्रणालीमा लगाउँदा खेतीपाती नफस्टाउने समस्या पनि छ ।

समयमा पानी नपर्दा समयमा बाली लगाउन नसकिने अवस्थाको सिर्जना भएको इन्द्रसरोवरका नारायण बलामीको अनुभव गरेका छन् । पहिला गर्मी ठाउँमा हुने फलफुल चिसो ठाउँमा हुँदैन थियो तर आजभोलि हुन थालेको छ । बलामीलाई लाग्छ, प्रकृतिमा केही न केही परिवर्तन भइरहेको छ ।

प्रकाशित मिति: शुक्रबार, जेष्ठ २७, २०७९