बिहिबार, बैशाख १३, २०८१

दैलेखका किसान किवी खेतीमा आकर्षित

काठमाडौँ । दैलेखका किसानको किवी खेतीतर्फ आकर्षण बढेको छ । पछिल्लो समय किवी खेती गर्ने किसान दिनानुदिन बढ्दै गएका छन् । भैरवी गाउँपालिका, नौमुले गाउँपालिका र गुराँस गाउँपालिकाका किसान सङ्गठित भएर किवी खेती सुरु गरेका छन् ।

भैरवी गाउँपालिका ७ का राजेश कँडेलले आफ्नो अध्ययनको विषयसँगै व्यावसायिक रूपमा किवी खेती सुरु गरिएको बताउछज् । उनले कर्णाली प्राविधिक शिक्षालयबाट कृषि बाली विज्ञान अध्ययनपश्चात् किवी खेती सुरु गरेको बताएका छन् । राजेशले कर्णाली प्रदेश सरकारले प्राविधिक शिक्षा पढेका युवालाई तालिम दिएको र तालिमपश्चात् दैलेख जिल्लामा गएर आएपछि व्यावसायिक रूपमा खेती गर्न सुरु गरेको बताएका छन् ।

अघिल्लो वर्ष ९० केजी किवी उत्पादन भएको र प्रतिकेजी तीन सयका दरले विक्री गरेको बताउँदै यो आर्थिक वर्षमा दुई क्विन्टलसम्म उत्पादन हुने जानकारी दिए । भैरवी गाउँपालिकाका–७ र ६ का ३० जना भन्दा बढी किसानले किवी खेती सुरु गरे पनि १० जनाले भने तीन सयभन्दा बढी बिरुवा रोपेको बताए ।

उनले दिएको जानकारीअनुसार तीनचुले हिमाली वागवानी पशु तथा कृषि सहकारीमार्फत कृषि विकास कार्यालयबाट किवी ब्लक कार्यक्रमबाट १० लाख र सहकारीको १० लाख र प्रदेश सांसद विकास कोषमार्फत् १९ लाख बराबरको सिँचाइ योजना निर्माण गरी किवीको व्यवसायिक खेती सुरु गरेका छौँ ।

समृद्ध कर्णाली एग्रोफर्म प्रा।लिका सञ्चालक सदामसिहं राठौरले नौ सय किवीको बिरुवा रोपिएको बताए । गुराँस गाउँपालिका –७ मा समृद्ध कर्णाली एग्रोफर्म प्रा।लिले समेत व्यावसायिक किवी खेती सुरु गरेको छ । उलने अहिले फर्ममा पिलर हान्ने कामहरू भइरहेको र कृषि विकास कार्यालयको साझेदारीमा १० लाख रुपियाँसहित फर्ममा ६५ लाख बराबरको रकम खर्च गरिएको बताउदै उनले भने अहिले पाँच जनालाई रोजगारी दिएका छौँ ।

जिल्ला भर १८ दशमलव ५ हेक्टरमा किवी खेती गरिएको कृषि विकास कार्यालय दैलेखका प्रमुख नगेन्द्र थापाले बताएका छन् । उनले एउटा किवीको बिरुवा रोपेको ४ वर्षपछि सुरु हुने एक बिरुवाबाट बर्सेनि ४० देखि ५० केजीसम्म उत्पादन लिन सकिने बताए । उनले पछिल्लो समय किसानबाट किवीको बिरुवाको माग अत्यधिक आउने गरेको केही बिरुवा कृषि कार्यालयबाट वितरण गरेको समेत बताएका छन् ।

प्रकाशित मिति: सोमवार, जेष्ठ २३, २०७९