शुक्रबार, चैत्र १६, २०८०

प्रकोप कीराले आलु सखाप पारेपछि किसानहरु चिन्तित

काठमाडौँ । डडेल्धुरामा आलु खेतीमा प्रकोप कीराले सताएपछि किसानहरु चिन्तित भएका छन् । लगाइएको बाली कहिले जङ्गली जनावरले त कहिले कीराफट्याग्राले नष्ट गर्नथालेपछि किसानहरु चिन्तित भएका हुन् । वर्षेबाली बँदेल र दुम्सीले नष्ट गर्ने गरेकामा हिउँदे बालीका रुपमा लगाइएको आलुखेती कीराले नष्ट गरेको छ ।अमरगढी नगरपालिकाका विभिन्न क्षेत्रमा आलु बालीमा कीराले नष्ट गरेकाले अहिले किसान समस्यामा परेका छन् ।

कृषि ज्ञानकेन्द्रका कृषि अधिकृत खेमराज पनेरुका अनुसार कीरालाई उपयुक्त हुने वतावरण मिलेका कारणले पनि आलु बाली नष्ट पारेको हुनसक्ने बताए । वडा नं ३ हाटगाउँका विभिन्न ठाउँमा आलुमा लाग्ने कीराका लार्भाले पातमा क्षति पुराइ खोप्टा मात्रै बाँकी राखेकोे छ । अहिले जिल्लाभरि नै आलुमा यस्तो समस्या देखिएको पीडित किसानले बिताए । ५० क्विन्टल बीउबाट ४० देखि ५० क्विन्टलसम्म आलु उत्पादन हुने यो क्षेत्रमा अहिले भने बीउ बराबरको मात्रै आलु उत्पादन भएको स्थानीय किसान शेरबहादुर थापाले बताएका छन् ।

कीरामा विषादी सहन गर्न ससक्ने क्षमता बढेको र वातावरण पनि अनुकूलन हँुदै आएका कारण टुटा, खुम्ले, स्केल, फेद कटुवा, रातो कमिलाको प्रकोप बढेको पाइएको उनले जानकारी दिए । माटो परीक्षण गरी कीरा तथा अन्य रोेग निरोपणका लागि विभन्न उपाय अपनाउन सकिने भएकाले यसबारे जानकारी लिन किसानलाई अधिकृत पनेरुले आग्रह समेत गरेका छन् । आलु फल्नै लाग्दा कीराले फल सबै सखाप पारेकाले कतिपय किसानले मेटासिट, कसैले खरानी र कसैले पसलमा पाइने अन्य औषधि खोजी गरी आलु बारीमा छर्न सुरु गरे पनि धेरै क्षेत्रफल जमिनमा सम्भव नभएको अर्का किसान ज्ञानुदेवी उप्रेतीको दुःखेसो पोखेका छन् ।

उक्त नगरपालिकाका व्यावसायिक आलु खेती गरी जीविकोपार्जन गर्दै आएका किसान पनि यो पटक कीराको चपेटामा परेका छन् । आलुको बोट सबै कीराले नष्ट गरेको गुनासो गर्दै कृषक उप्रेतीले किसानको प्रमुख आयस्रोतको रुपमा रहेको बालीनै जोखिममा परेको बताए । कुनै वर्ष खडेरी, कहिले असिनापानी र कहिले कीराले आलु बाली नष्ट गर्ने गरेको किसानहरुको भनाइ छ ।

प्रकाशित मिति: बिहिबार, जेष्ठ १९, २०७९