शुक्रबार, बैशाख ७, २०८१

बोटसँगै मकै बिक्री, किसान उत्साही

काठमाडौँ । ग्रामीण क्षेत्रका मकै किसान यतिबेला उत्साहित भएका छन् । उनीहरुले लगाएको मकैमा दाना लाग्न सुरु भएसँगै खेतबाटै बोटैसँगै मकै बिक्री हुन थालेपछि उनीहरु उत्साही भएका हुन् । जिल्लाका ठूला गाईफार्म सञ्चालकले किसानका खेतमा गएर साइलेज बनाउनका लागि मकै खरिद गर्न थालेका छन् । किसानहरु पनि बोटैमै मकै नपाकी राम्रो मूल्य पाउन थालेपछि सन्तुष्ट भएको बताउछन् ।

मेचीनगर नगरपालिका १५ ज्यामिरगढीका मकै किसान ६५ वर्षीय हिमाल पोखरेलले खेतबाटै ८० हजारभन्दा बढीको मकै बिक्री गरेका छन् । उनले लगाएको १ बिघा जमिनको मकै साइलेज बनाउनका लागि गाई फार्म सञ्चालकहरुले खरिद गरेका थिए । “मकै भाँच्नु, नङ्ग्याउनु, छोडाउनु र सुकाउनु पनि नपर्ने, मूल्य पनि राम्रो आयो,” उनले भने बिना झन्झट बोटमै बिक्री भएपछि बिना खर्च आम्दानी पनि बढ्यो ।

किसान पोखरेलले खेतबाटै प्रतिकेजी ४ रुपैयाँ ५० पैसाको दरले बोटसँगैको मकै बिक्री गरेको बताएका छन् । मकै सुकाएर बेच्दा भनेजस्तो मूल्य पनि नपाउने र खर्च पनि बढी भइरहेको अवस्थामा बोटबाटै भएको बिक्रीले ग्रामीण क्षेत्रका किसानलाई राहत मिलेको छ ।

संस्थालाई माडामा लिएर लगाइएको जमिनको मकैले मात्र नपुगेपछि कनकाई नगरपालिका, झापा गाउँपालिका र मेचीनगरका किसानको मकै समेत खरिद गरेर साइलेज बनाइरहेको एनएमसीका अध्यक्ष रामचन्द्र उप्रेतीले बताएका छन् । उनले साइलेज बनाउनका लागि किसानको १० लाख केजी मकै खरिद गरिएको जानकारी दिएको छ । चैत महिना भित्र खरिद गरिएको मकै प्रतिकेजी रु ५ र बैशाख लागेपछि प्रतिकेजी ४ रुपैयाँ ५० पैसाका दरले किसानको मकै खरिद गरिएको उनले बताएका छन् ।

अध्यक्ष उप्रेतीले गाईवस्तुका लागि पोसिलो आहार मानिने साइलेज अरू गाई फार्मलाई समेत बिक्री गरिने बताए । उनका अनुसार दमकमा रहेको पाथीभरा एग्रो फार्मले पनि १० लाख केजी मकैको साइलेज बनाएको छ । जेठदेखि असारसम्ममा प्रतिकेजी रु १० का दरले बिक्री गर्ने र साउन लागेपछि त्यसको मूल्य पनि बढ्न सक्ने अध्यक्ष उप्रेतीले बताउएका छन् ।

प्रकाशित मिति: मङ्लबार, जेष्ठ १७, २०७९