बिहिबार, चैत्र १५, २०८०

झापामा डिएपी मलको अभाव, किसानहरु समस्यामा

काठमाडौँ । झापामा रासायनिक मलको अभाव भएको छ । धान रोप्ने बेलामा रासायनिक मलको अभाव हुँदा झापाका किसानहरु समस्यामा परेका छन् । हरेक खेतीको समयमा मलको अभाव भोग्दै आएका उनीहरुलाई यस वर्षको पनि धानखेतीका लागि पनि मल अभाव भएको गुनासो गरेका छन् ।

धान रोप्दा छर्ने डिएपी मल जिल्लामा अभाव भएको किसानहरुले बताएका छन् । रासायनिक मलको भरपर्दो विकल्प नहुनु र आवश्यक पर्दा खरिद गर्नसमेत मल नपाउँदा किसानले बर्सेनि मलको समस्या झेल्नुपरेको झापा कमल ६ का अगुवा किसान ख्याम आचार्यले बताए । यस वर्षसमेत धान रोप्ने समय हुँदा पनि डिएपी मल पाउन नसकेको उनको भनाइ छ ।

कमल गाउँपालिकाका लागि १ हजार बोरा डिएपी मल कोटामा छुट्टिएको गाउँपालिका कृषि शाखाले जानकारी दिएको छ । शाखा प्रमुख महेन्द्र बोहोराले कृषि सामग्री कम्पनीबाट प्राप्त हुने सो मल विभिन्न सहकारी संस्थामार्फत किसानलाई उपलब्ध गराइने जानकारी दिए ।

सहकारी संस्थाले मागका तुलनामा न्यून परिमाणको मल वितरण गर्न कठिन हुने कमल–६ स्थित लखनपुर साना किसान कृषि सहकारी संस्थाका प्रबन्धक टङ्क पराजुलीले बताए । उनले धान रोपाइका बेला उच्च माग हुने डिएपी न्यून परिमाणमा आएका कारण किसानको माग थेग्नसमेत कठिन भएको जानकारी दिएका छन् ।

प्रकाशित मिति: शुक्रबार, जेष्ठ १३, २०७९