शुक्रबार, बैशाख ७, २०८१

तरकारी पारिको होइन, बारीको खाउ

काठमाडौँ । बिराटनगरमा निजी लगानी स्थापना गरिएको बञ्जरा एग्रो फार्मले हाल फार्मदेखि घरसम्म’ अभियान सञ्चालनमा ल्याएको छ । पारिको हैन बारीको खाउ, ताजा लिन बञ्जार एग्रो जाउ’ नारा दिएका बञ्जरा एग्रो कृषिकर्म गर्न चाहने नयाँ कृषक एवं व्यवसायीका लागि पाठशालासमेत बनेको छ । सो अभियानअन्तर्गत बञ्जरा फार्मले थोक क्रेतासँगै खुद्रा क्रेताको खोजीमा लागेका छन् । आफ्नो फार्ममा भएको उत्पादनलाई उपभोक्तामाझ लैजानका लागि बञ्जराले फार्मभित्र र फार्म बाहिर दुई वटा स्टल सञ्चालनमा ल्याएको हो ।

विराटनगरको बरगाछी चोक नजिकै पश्चिमतर्फ चाँदनी चोकमा सञ्चालनमा ल्याएको स्टलमा बञ्जराकै उत्पादन लौका, काँक्रा, घिरौँला, साग, डल्लो खुर्सानी, धनियाँ, रायको साग, भिण्डी र गोलभेंडाजस्ता हरियो तरकारी बिक्री सुरु भएको छ । आम उपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राखी बञ्जरा फार्मको उत्पादित तरकारी विषादीरहित अर्गानिक रहेको बताइएको छ ।

विराटनगर महानगरपालिका १२ दरैयामा रहेको सो फार्ममा अहिलेसम्म रु ३० करोडभन्दा बढी लगानी भइसकेको छ । स्थानीय सञ्जय चापागारई र चीनमा बस्ने उनका मामा गजेन्द्र शर्माले सो फार्म स्थापना गरेको हो । शर्मा चीनको पाँचतारे होटलमा महाप्रबन्धकका रुपमा कार्यरत रहेका छन् । चीनमा कृषिबाट भएको आर्थिक रुपान्तरणको सिको गर्दै मामा, भाञ्जा मिलेर यो एग्रो फार्म स्थापना गरेको हो । सो पसलमा बञ्जराकै उत्पादन, घीउ, दही, पनिर र दूध पनि बिक्रीका लागि राखिएको छ ।

११ करोड मूल्यमा पाँच बिघा जग्गा खरिद स्थापना गरिएको सो फार्ममा अहिले ११२ भारतीय उन्नत जातका होल–स्टेन जर्सी गाई छन् । प्रतिवटा २ लाख ५० हजार मूल्यपर्ने १ गाईले दैनिक २० देखि ४५ लिटरसम्म दुग्ध दिन्छ । फार्ममा अझै ८८ गाई थप्ने र पछि यो जातको गाई यहीबाट उत्पादन गरी बिक्री गर्ने योजना रहेको बताइएको छ ।

दैनिक १ हजार लिटर दुग्ध बिक्री हुने सो फार्ममा दैनिक २०० लिटर दुग्धको दही र पनिर बन्ने गरेको फार्मका सञ्चालक चापागार्इंले जानकारी दिए । दही प्रतिकेजी रु १५० र पनिर प्रतिकेजी रु ७०० मा बिक्री हुन्छ भने दुग्ध प्रतिलिटर रु ७० मा बिक्री भएको बताउछन् । मासिक १५ लाख आम्दानी गर्न सफल भएको सो फार्मले ३० जनालाई प्रत्यक्षरुपमा रोजगारी पनि दिएको छ । गाईको व्यवस्थित गोठ, गोबरग्यास उत्पादनका साथै साइलेज बनाएर पशु आहार संरक्षण केन्द्र पनि बनाएको छ । गाईका लागि अत्यन्त पोषक मानिने फार्ममा २ साइलेज संरक्षण केन्द्र छन् ।

फार्मको गतिविधि र लगनशीलतालाई प्रोत्साहन गर्न सङ्घीय सरकारले यस वर्ष लाइभस्टक इनोभेसन प्रोजेक्टबाट मिल्किङ पार्लरका लागि १ करोड अनुदान दिएको छ । सरकारले गरेको यस किसिमको सहयोगले आफ्नो व्यवसाय र पेशाप्रति अझ जिम्मेवारी बनाएको शर्माले बताए । उनले भने कुनै समयमा विराटनगर औद्योगिक नगरीबाट चिनिन्थ्यो अब नमूना एग्रो फार्मबाट चिनाउनेछु ।

भेन्टा, करेल, बन्दाकोवी, गोलभेंडा, काँक्रा, भिण्डी, बोरी र लौकाजस्ता तरकारी लगाइएको सो फार्ममा उत्पादन हुने तरकारी अर्गानिक रहेको छ । कुनै पनि विषादी प्रयोग नगरी आफैले तयार गरेको अर्गानिक मल र विषादी मात्र प्रयोग गर्ने गरेकाले आम उपभोक्ताका लागि बञ्जार एग्रो फार्म आकर्षण भएको छ ।

दैनिक दर्जनौँ मानिस फार्म हेर्न आउने गरेकाले निकै खुसी अनुभव भएको चापागाईंले बताउका छन् । उनले आगामी १५ दिनपछि हप्तामा २०० केजी तरकारी उत्पादन हुने बताए । बजारका लागि कुनै समस्या नभए पनि भारतबाट आयातित हुने विषादीयुक्त तरकारीले यहाँको उत्पादनलाई बजारमा केही समस्या आउने गरेको उनको दुःखेसो पोखेको छ ।

 

प्रकाशित मिति: सोमवार, जेष्ठ ९, २०७९