शुक्रबार, चैत्र १६, २०८०

नियन्त्रण बाहिर बर्डफ्लु, १२ करोड भन्दा बढीको क्षति

काठमाडौं । पशुपंक्षिमा लाग्ने संक्रमण रोग बर्डफ्लु नियन्त्रण बाहिर गएको छ । पशु सेवा विभागले दिएको जानकारी अनुसार गत माघ महिनादेखि देखा परेको बर्डफ्लु नियन्त्रण बाहिर पुगेको होे । पछिल्लो समय काठमाडौं उपत्यकाका तीन जिल्ला सहित चितवन, मोरङ, सुनसरी ,सिन्धुपाल्चोक, उदयपुर,बारा, पर्सा, काँस्की, मकवानपुर र धनुषा लगायतका १३ जिल्लामा बर्डफ्लु संक्रमण फैलिएको विभागले जानकारी दिएको छ ।

विभिन्न जिल्लामा देखिएको बर्डफ्लु नियन्त्रणका लागि पशुपंक्षी नष्ट गरिँदा १२ करोड भन्दा बढीको क्षति भएको अनुमान गरिएको छ ।

‘पछिल्लो समय बर्डफ्लु संक्रमण उच्च देखिएको हो । बर्डफ्लु संक्रमण नियन्त्रणका लागि ठूलो संख्यामा व्यवसायिक पन्छी नष्ट गर्दा किसान र सरकार दुवैलाई नोक्सान भएको छ । ‘बर्डफ्लु संक्रमण स्थिति हामीले अपेक्षा गरेभन्दा फरक बन्दै गएको छ,’ पशु सेवा विभागका सूचना अधिकारी डा.चन्द्र ढकालले कृृषिअनलाईनसँग भने ।

विभागले दिएको जानकारी अनुसार हालसम्म हाँस, ब्रोइलर, लोकल, गिरिराज, लेयर्स,टर्की,प्यारेन्ट कालिज र लौकाटमा बर्डफ्लु पुष्टि भएको छ ।

चितवनबाट तनहुँमा कुखुरा, चल्ला र अण्डा प्रवेशमा रोक

यता जिल्ला बर्डफ्लु रोग नियन्त्रण समिति तनहुँले बर्डफ्लु संक्रमण वृद्धि भएसँगै चितवनबाट कुखुरा, चल्ला, अण्डा र सुली ल्याउन रोक लगाएको छ । बर्डफ्लु रोग नियन्त्रणका लागि चितवनबाट यहाँ कुखुरा, चल्ला, अण्डा र सुली ल्याउन रोक लगाइएको हो ।

गत शनिबारदेखी लागु हुनेगरी एक हप्तासम्मका लागि चितवनबाट भित्रिने जिउँदो कुखुरा, चल्ला, अण्डा र सुली ल्याउन रोक लगाइएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा. बालकुमार श्रेष्ठले जानकारी दिए ।

चितवनलगायत देशका विभिन्न जिल्लामा पक्षीमा बर्डफ्लु रोग सङ्क्रमण देखिएकाले आवश्यक सतर्कता र रोकथामका लागि पशु स्वास्थ्य तथा पशु सेवा ऐन २०५५ को दफा १५ को पशुपक्षी ओसारपोसार निषेधसम्बन्धी व्यवस्था बमोजिम उक्त निर्णय गरिएको श्रेष्ठको भनाई छ ।

कुखुरापालक संघ भन्छ ःखोर खाली छ

यता कुखुरा पालक किसान संघले पछिल्लो समय बर्डफ्लु संक्रमणले जोखिम बढ्नै जाँदा कुखुराको खोर नै खाली भएको बताएको छ ।

‘नेपालमा यहाँभन्दा अघि यति धेरै बर्डफ्लु संक्रमण देखिएको थिएन । कुखुरा फार्म संचालन भएका सबै ठाउँमा बर्डफ्लु देखा परेको छ, साँच्चै भन्नुपर्दा प्राय कुखुराका खोर खाली छन्,’ कुखुरा पालक किसान संघका अध्यक्ष झनक पौडेलले भने ।

दानाको मूल्य वृद्धि, बर्डफ्लु संक्रमण र ह्याचरी चल्ला बिक्रीवितरण हेर्दा नेपालमा कुखुराको अभाप भएको पौडेलको भनाई छ ।

यो वर्ष गत माघदेखी नेपालका विभिन्न जिल्लाहरुमा वर्डफ्लु देखापर्दै आएको छ । बर्डफ्लुको उपचार यहि भन्ने छैन । जसले गर्दा यो रोगको उपचार गर्न नसक्ने प्रकृति भएकाले त्यो सँग सम्बन्धित पशुपंक्षि र संक्रमणले रोग सार्न सक्ने पशुपंक्षिलाईृ नष्ट गरिन्छ ।

प्रकाशित मिति: बुधबार, चैत्र ३०, २०७८