शुक्रबार, चैत्र १६, २०८०

तनहुँमा कृषि गणना गरिँदै

काठमाडौँ । तनहुँमा यही वैशाख ६ गतेदेखि १९ गतेसम्म कृषि गणना गरिने भएको छ । कृषकले खेती गरेको जग्गा, लगाएको बाली, र पशुपन्छीपालन तथा कृषिमा वातावरणीय प्रभावसम्बन्धी विवरण सङ्कलन गर्ने उद्देश्यसहित कृषिगणना गर्न लागिएको छ ।

कृषि विकासका लागि स्थानीय, जिल्ला, प्रदेश तथा राष्ट्रियस्तरका योजना तर्जुमा एवं नीति निर्माण, अनुगमन तथा मूल्याङ्कन गर्न आवश्यक पर्ने तथ्याङ्कको खाँचो पूरा गरी योजनाविद् र नीति निर्मातालाई सघाउ पुराउन कृषिगणना गर्न लागिएको कार्यालय प्रमुख नवराज पोख्रेलले जानकारी दिएको छ ।

कृषि गणनाका लागि तनहुँमा ६३ गणक परिचालन गरिने बताएको छ । १६ सुपरिवेक्षक र १ कृषिगणना अधिकृत परिचालन गरिने उहाँले बताए । कृषि गणनामा तथ्याङ्क सङ्कलनको कार्य एउटै समयसीमाभित्र २ चरणमा सञ्चालन गरिने बताए । गणक तथा सुपरिवेक्षकलाई यही चैत २५ गतेदेखि वैशाख ३ गतेसम्म तालिम सञ्चालन गरिनेछ भने २४ गतेसम्म गणक तथा सुपरिवेक्षक नियुक्ति भइसक्ने बताउका छन् ।

पहिलो चरणमा गणकद्वारा छानिएका गणना क्षेत्रका प्रत्येक व्यक्तिको घरदैलोमा पुगी तोकिएको न्यूनतम मापदण्ड पूरा गरेका कृषक परिवारको सूचीकरण कार्य गरिने पोख्रेलले जानकारी दिइएको छ । दोस्रो चरणमा भने निश्चित तथ्याङ्कीय छनोट विधिबाट सुपरिवेक्षकद्वारा छानिएका कृषक परिवारमा पुगी गणकद्वारा कृषक परिवार प्रश्नावली फारममार्फत कृषकले चलन गरेको जग्गा तथा पशुपन्छीपालन, अन्यखेती, वातावरणलगायत विविध विषयसम्बन्धी विस्तृत विवरण सङ्कलन गरिने योजना रहेको बताए ।

सुपरिवेक्षकबाट जिल्लामा सञ्चालित संस्थागत कृषि चलनको पूर्णगण्ना गरिने र गणक तथा सुपरिवेक्षकले गर्ने स्थलगत तथ्याङ्क सङ्कलन कार्यको केन्द्र, प्रदेश तथा जिल्ला तहबाट विभिन्न चरणमा सुपरिवेक्षण गरिने कार्यालय प्रमुख पोख्रेलले बताएका हुन् । जिल्लाका सबै स्थानीय तहमा गरी १६७ गणना क्षेत्रबाट करिब चार हजार १७५ कृषक परिवारको छनोट गरी गणना गरिनेछ ।

कृषिगणनामा घर परिवारले गरेका कृषिकार्य, संस्थागत कृषिकार्य सरकारी, अर्धसरकारी, सहकारी, व्यवसायले गरेका कृषिकार्य, वडागत सामुदायिक कृषिसम्बन्धी क्रियाकलाप समेटिने भएको छ । कृषि गणनामा कृषकले चलन गरेका जग्गाको आधार, जग्गाको उपभोग र उपयोग, बाली लागेका जग्गाको क्षेत्रफल, मुख्य बालीको उत्पादन र सिँचाइको विवरण, कृषि सामग्री र औजारको उपयोग, पशुपन्छीको सङ्ख्या र आहारसम्बन्धी विवरण, कृषि कार्यमा संलग्न जनशक्ति, लिङ्गको आधारमा कृषि जग्गाको स्वामित्वको अवस्थाका बारेमा तथ्याङ्क सङ्कलन गरिने उद्देश्य रहेको बताए ।

कृषि वन, कृषि ऋण, बीमा, अनुदान, कृषि कार्यमा जलवायु परिवर्तनको प्रभाव, हरितगृह पद्धतिको प्रयोग, माटो परीक्षण, कृषि बजारसम्मको पहुँच, कृषि अवशेष र फोहरको व्यवस्थापनजस्ता विविध विषयमा तथ्याङ्क सङ्कलन गरिने बताइएको छ । कृषि गणनालाई प्रभावकारी र विश्वसनीय बनाउनुपर्ने प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले बताएका छन् ।

प्रकाशित मिति: सोमवार, चैत्र १४, २०७८