मङ्लबार, बैशाख ११, २०८१

कृषिमा थोपा सिँचाइ प्रभावकारी बन्दै

काठमार्डौ । जिल्लाका कृषकले अपनाएको थोपा सिँचाइ प्रविधि प्रभावकारी बनेको छ । उत्पादन बढाउन र लागत घटाउन थोपा सिँचाइ प्रभावकारी बनेको हो । परीक्षणका लागि दुई वर्षअघि हरियाली समूहले भित्र्याएको यो प्रविधि जिल्लाका अन्य कृषकले पनि अपनाउन थालीसकेका छन् ।

बेनी नगरपालिका १ रत्नेचौरको हराभरा कृषि फार्मका सञ्चालक निरबहादुर थापाले पानीपानीले धेरै ठाउँमा थोपा सिँचाइ प्रविधि प्रभावकारी बनेको बताएका छन् । ट्याङ्कीमा सङ्कलन गरिने पानीलाई पाइपबाट बिरुवाको जराजरामा पुराउँदा ९० प्रतिशत पानीको सदुपयोग हुने थापाले बताए । बोट बिरुवालाई आवश्यक पर्ने तत्व पानीमा मिसाएर पाइपबाट बिरुवालाई दिन सकिने बताएका छन् ।

अनावश्यक ठाउँमा पानी नजाँदा झारपात नआउने, मल सबै बालीले मात्र उपयोग गर्न पाउने र झारपात गोडमेल गर्दा हुने समयको बचत पनि भएको थापाले बताए । थापाले गत वर्ष कृषि ज्ञान केन्द्र म्याग्दीको अनुदान सहयोगमा पाँच रोपनी जमिनमा थोपा सिँचाइ र मल्चिङ प्रविधिबाट तरकारी खेती गरेको पनि भनेका छन् ।

२० वर्षदेखि व्यावसायिक तरकारी खेती गर्दै आएका थापाले जमिनमा प्लास्टिकले छोपेर गरिने मल्चिङ प्रविधिले झारपात उम्रन नदिने, मल नड्ढ्ने, तापक्रम सन्तुलित हुने, बिरुवा छिटो हुर्कने, बढ्ने र उत्पादन बढेको अनुभव सुनाउदै, मल्चिङ र थोपा सिँचाइ प्रविधिका लागि कृषि ज्ञान केन्द्रले थापाको फार्मलाई गत वर्ष खुल्ला जमिनमा प्राङ्गारिक खेती कार्यक्रममार्फत रु १ लाख अनुदान दिएको बताए ।

परम्परागतको तुलनामा थोपा सिँचाइबाट १० देखि २० प्रतिशत उत्पादन बढाउन सकिएको डडुवाका कृषक प्रेम भण्डारीले बताएका छन् । गोलभेडा, काउली, बन्दा, ब्रोकाउली, घिर्रौला, सिमी, करेलालगायत लहरेबालीका लागि थोपा सिँचाइ प्रभावकारी हुने कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत गोविन्द पाण्डेले बताएका हुन् ।

 

प्रकाशित मिति: शुक्रबार, चैत्र ४, २०७८