बिहिबार, चैत्र १५, २०८०

खाद्य प्रविधिका उच्च कर्मचारी आर्थिक प्रलोभनमा पर्दा बजार गुणस्तरहिन खाद्यबस्तु

काठमाडौं । स्वदेश तथा विदेशमा उत्पादन भई मुलुकभर विक्री वितरण गरिने खाद्यबस्तुहरुको गुणस्तर चेकजाँच गर्ने सरकारी निकाय खाद्य प्रविधि तथा गुणनियन्त्रण विभागका उच्च कर्मचारीहरुको आर्थिक प्रलोभनका कारण जनताले गुणस्तरहिन खाद्यबस्तु उपभोग गरिरहनु परेको छ ।

नियमित रुपमा अनुगमन गर्नु पर्ने निकायका रुपमा रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक तथा उच्च पदस्थ कर्मचारीहरु समेत व्यापारीहरुसँगको उठबसमा भएका कारण लाखौ जनताले उच्च मूल्य तिरेर पनि गुणस्तरहिन खाद्य पदार्थ उपभोग गर्नु परेको छ ।

अहिले पाउरोटी कम्पनीहरुले गरेको उत्पादन मितिको गैरकानूनी कार्यलाई विभागले ढाकछोप गर्दै आईरहेको छ । मारिको जापानी कम्पनीले उत्पादन गरेको पाउरोटी उत्पादन भएको भोली पल्टको मिति राखेर पठाउने गरेको फेला परेको छ ।

तर विभागले सो कम्पनीलाई स्पष्टिकरण समेत सोध्ने आँट गरेको छैन । गत वर्ष पनि शुभधारणा ग्रुपले उत्पादन गरेको पाउरोटी पनि उत्पादनको भोली पल्टको मिति राखेर बजारमा पठाएको फेला परेपनि कृषि अनलाईनले समाचार प्रकाशन गरेको थियो । समाचार सार्वजनिक भएपछि विभागले त्यस्ता कम्पनीलाई सचेत गराउनु भन्दा पनि आर्थिक प्रभावमा परेर साम्य पारेका थिए ।

अहिले पुन मारिको लगायत धेरै पाउरोटी बजारमा उत्पादनको भोली पल्टको मिति राखेर पठाउने गरेको भेटिएको छ । यो एउटा कम्पनी मात्र नभएर अधिकांशले त्यस्तै गर्ने गरेका छन् । तर खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले त्यस्ता कम्पनीहरु आर्थिक मिलेमतोमा कार्वाही प्रक्रिया अगाडि नबढाउने गरेको देखिन्छ । पाउरोटी मात्र होइन पानी, दूध लगायत दैनिक अत्यावश्यक खाद्य पदार्थहरुको गुणस्तर चेकजाँच गर्ने विभागले अनुगमन गर्ने गएको देखिएपछि अग्रिम सूचना दिएर जाने गरेको छ ।

खाद्य प्रविधि विभागका अधिकांश महानिर्देशक नै आर्थिक प्रभाव पर्ने भएका कारण यस्ता कैयौ गुणस्तरहीन खाद्य सामग्री उपभोक्ताहरुले उपभोग गरिरहनु परेको छ । पानी, तेल, पाउरोटी, भुजिया लगायतका बस्तुहरु गुणस्तरहीन भएको र अनुगमनको विषयमा जानकारी लिने प्रयास गर्दा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी महानिर्देशक मतिना वैद्य बोल्न नै चाहँदिनन् ।

प्रकाशित मिति: बिहिबार, फाल्गुन २६, २०७८