शनिबार, बैशाख ८, २०८१

नानो झोल युरिया मल नेपालमा पनि उपयुक्त

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले रासायनिक मलको समस्या कम गर्न झोल नानो युरिया मल बिक्री वितरणका लागि अनुमति दिएको छ । यसअघि दाना युरिया मल मात्र आयात गर्न पाइनेमा अब झोल युरिया मल पनि ल्याउन पाइने कृषि तथा पशुपन्छीमन्त्री महिन्द्रराय यादवले जानकारी दिएका छन् । दाना युरिया मलभन्दा सस्तो र सजिलो तरिकाले उपलब्ध हुने भएकोले किसानले नानो युरिया मल प्रयोग गर्न सकिने मन्त्री यादवले बताएका छन् ।

नानो युरिया मललाई नेपालमा आयात र प्रयोग गर्न अनुमति दिइएको र सूचीकृत गरिएको सूचना सोमबार राजपत्रमा प्रकाशित भएको थियो । हालसम्म नेपालमा ५२ प्रकारको मल पाइन्थ्यो । अब नानो युरिया मलसहित ५३ प्रकारको मल पाइनेभएको छ पहिलो पटक रासायनिक मल पनि झोलका रूपमा पाउने भएको छ ।

नानो युरिया मल नेपालका लागि उपयुक्त छ कि छैन भनी परीक्षणका लागी माटो विज्ञ डा चन्द्र ढकालको नेतृत्वमा एउटा समिति बनेको थियो । त्यो समितिले खुमलटारमा नानो युरिया मलको परीक्षण गरेको कृषि मन्त्रालयका सहसचिव कमलराज गैरेले बताएका छन् । समितिले काउली तरकारीमा नानो युरिया मलको प्रयोग गरेको थियो । परीक्षणबाट सकारात्मक परिणाम आएपछि नेपालमा नानो युरिया मल प्रयोग गर्न सकिने सिफारिस गरिएको सहसचिव गैरेले बताएका छन् ।

काउली तरकारीमा गरेको परीक्षणबाट नानो युरिया मल सस्तो पर्ने देखिएको छ । दाना युरिया मलको तुलनामा यो नानो युरिया मल प्रयोग गर्दा प्रतिहेक्टर आठ हजार १५० रुपियाँ कम खर्च लाग्ने देखिएको छ । परीक्षण गर्दा अन्य मलको तुलनामा नानो युरिया मल प्रयोग गर्दा प्रतिहेक्टर ४।६७ मेट्रिक टन बढी उत्पादन भएको देखाइएको छ ।

किसानले यो मल प्रयोग गर्दा लगानी कम र उत्पादन बढी हुने परीक्षणले पुष्टि गरेपछि सरकारले प्रयोगका लागि किसानलाई अनुमति दिएको छ। एक बोरा ९५० केजी० दानादार युरिया मल बराबर पाँच सय एमएल नानो झोल मल हुने गरेको छ । ५ सय एमएल झोल युरिया मलको ३८० रुपियाँ मात्र पर्छ भने एक बोरा दाना युरिया मलको मूल्य अनुदानसहित ७५० रुपियाँ पर्दछ ।

गैरेका अनुसार दानादार युरिया मल माटोमा छर्न सकिन्छ, नानो युरिया मल भने बाली उम्रेपछि पातमा मात्र छर्न सकिन्छ । नानो युरिया मल स्पे्र गर्नुपर्ने भएकाले दानादार युरिया मल लगाउन लाग्नेभन्दा अलि महँगो र झन्झटिलो पनि छ ।

प्रकाशित मिति: मङ्लबार, फाल्गुन २४, २०७८