शनिबार, बैशाख ८, २०८१

कहिले पाउँला पशु सेवा विभागले महानिर्देशक

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहतमा रहेको पशु सेवा विभागमा महानिर्देशन रिक्त छ । महानिर्देशक विहिन अवस्थामा विभाग चल्न थालेको पनि करीव ढेड महिना वितिसकेको छ । तर कृषि तथा पशुपन्छी विकास मन्त्रालय भने महानिर्देशक नियुक्ति गर्न तर्फ चासो नै दिएको छैन ।

पशु सेवा विभागको महानिर्देशक पदका लागि विगतमा मन्त्रीलाई अग्रिम आर्थिक सहयोग गर्ने सहसचिवहरुका कारण बेला बेलामा विवाद पनि नहुने गरेको होइन । संघीय संरचना बन्नु अघिसम्म पशु सेवा विभागको महानिर्देशक बन्नका लागि निकै नै हरिहत्ते गर्ने प्रचलन थियो । राजनीतिक पृष्ठभूमि तथा आर्थिक लेनदेनको अवस्था हेरेर जुनियरलाई पनि महानिर्देशक बनाएका थुप्रै घटनाहरु छन् ।

अझ पशु सेवा विभागको महानिर्देशक बनाउनका लागि दाना उद्योगीहरु, डेरी उद्योगीहरु, पशु औषधी व्यवसायीहरु राजनीतिक लविङ्ग नै गर्ने गर्दथे । विगतमा विभागको महानिर्देशक बन्नका लागि २५ लाख रुपैया नगद मन्त्रीलाई बुझाएर पद हात पार्ने पनि नदेखिएका होइनन् ।

तर, संघीय संरचना पश्चात तल्लो तहसम्म पशु सेवाका कार्यालयहरु नभएका कारण पनि महानिर्देशक बन्नका लागि त्यत्ति धेरै आतुर देखिँदैनन् पशु सेवा तर्फका सहसचिवहरु । तर पशु सेवा तर्फ पनि भेटेरीनरी र लाईभस्टक समूहवीच नै तँभन्दा म के कम भन्नै सोचका कारण पनि शक्ति बाँडफाँडमा समस्या हुने गरेको पूर्व महानिर्देशकहरुको गुनासो छ ।

कसले कसलाई टेर्ने वा नटेर्ने भन्ने लडाइँ पशु सेवा भित्रै कै कर्मचारीहरुमा देखिन्छ । त्यसमाथि पनि कृषि सेवा तर्फका नेतृत्व मन्त्रालयमा रहुञ्जेल त पशु सेवाले अवसर नै नपाएको पनि धेरै उदाहरणहरु भएको उनीहरुको अनुभव छ ।

अहिले पशु सेवा विभागको महानिर्देशक बन्नका लागि मन्त्रीको दैलो चाहार्ने सहसचिव पनि छन् । मन्त्रालय मातहत पशु सेवा तर्फको निकै जुनियर सहसचिव नै महानिर्देशक बन्ने लहडमा पनि लागेका छन् । विशेष गरी पशु औषधी व्यवसायीहरुको आग्रहमा उनी त्यसरी लागेका हुन् ।

पशु सेवा विभागको महानिर्देशकले पशुपन्छीको औषधी तथा आहारका लागि फिडसप्लिमेण्टको आयात गर्न सिफारिस दिने भएकाले पनि दाना उद्योगीदेखि पशु औषधी आयातकर्ताहरु समेत आफूलाई अनुकूल हुने व्यक्तिलाई महानिर्देशक बनाउने अभियानमा जुटेको देखिन्छ ।

यद्यपी कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दल वा व्यापारीहरुको दबाबमा भन्दा पनि पशु सेवामा कार्यरत सहसचिवमध्ये सवैभन्दा सिनियरलाई महानिर्देशक बनाउने परिपार्टी बनाउन सक्ने हो भने मात्र यो क्षेत्रको विकास हुन सक्छ । यस अघि पनि तात्कालिन कृषि तथा पशुपन्छी विकास मन्त्री पद्मा अर्यालयले जुनियर सहसचिवलाई महानिर्देशक नियुक्ति गरेकै कारण एक जना सहसचिवले राजीनामा नै दिएका थिए ।

अहिले पनि पशु सेवा विभागमा महानिर्देशक रिक्त भएको करीव ढेडमहिना वितिसकेको छ । यो अवस्थामा कृषि तथा पशुपन्छी विकास मन्त्री, पशु सेवा तर्फका सचिवले सिनियरलाई महानिर्देशक बनाउने हो पनि मन्त्रालयमा एउटा राम्रो सन्देश पनि जाने देखिन्छ । त्यसैले पनि विभागको प्रमुख रिक्त राखिरहनु भन्दा सिनियर सहसचिवलाई जिम्मेवारी तत्कालै दिने हो भने सेवामा प्रभावकारिता देखिन्थो कि ?

प्रकाशित मिति: बिहिबार, फाल्गुन १९, २०७८