बिहिबार, बैशाख १३, २०८१

पशु औषधीका नाममा पानी बेच्नेहरु नै नेतृत्वमा

काठमाडौं । औषधी सम्वेदनशील कुरा हो । तर औषधीको व्यापार गर्नेहरुले मर्नु पर्छ भन्ने कुरा भुल्दै जसरी हुन्छ पैसा कमाउन पाए पुग्छ भन्ने सोचले हिडेका कयौं उदाहरणहरु छन् । त्यसैले होला विकृति मानव औषधीसँग मात्र जोडिएको विषय नभएर पशु औषधीसम्म पनि जोडिएको छ ।

नेपालमा पशुपन्छीको औषधी आयात गर्ने बजारीकरण गर्ने एवं विक्री वितरण गर्नेहरुसम्मका व्यवसायीहरुको संस्थामा रुपमा नेपाल पशुपन्छी औषधी व्यवसायी संघ स्थापना भएको छ । २०४७ सालमा स्थापना भएको यस संस्थामा नेतृत्व लिने अधिकांश अध्यक्षहरुले नेपाली किसानहरुलाई लुट्ने, औषधी व्यवस्था विभाग, पशु सेवा विभागका कर्मचारीहरुको मिलेमतोमा औषधीका नाममा गैरकानूनी काम गर्दै आइरहेको उदाहरणहरु प्रशस्त नै छन् । नेपाल पशुपन्छी औषधी व्यवसायी संघको अध्यक्ष पदको दुरुपयोग गर्दै निरौला थरका एक व्यक्तिले नक्कली सरकारी पत्र बनाएर नेपालमा प्रतिवन्धित औषधी आयात गरी विक्री वितरण नै गरेका थिए । सो काण्ड बाहिरिएपछि निरौला केही दिन हनुमान ढोकामा नौ जागिएका थिए ।

पछिल्लो समयमा पनि नेपाल पशुपन्छी औषधी व्यवसायी संघको नेतृत्वकर्ताहरु मर्नु पर्छ भन्ने विर्षिएर जसरी हुन्छ कमाउने भन्ने धन्दामा क्रियाशील रहेका छन् । संघको अध्यक्षमा रहँदा चित्रबहादुर गुरुङ्ग हुन् कि नवराम तिमिल्सेना वा अहिलेका अध्यक्ष गौतम पनि बेलाबेलामा विवादमा मुछिने गर्दछन् । साँच्चै गल्ती गरेर विवादमा हुनु र गल्ती नै नगरी विवादमा तानिनु फरक कुरा हो ।

यद्यपी नेपाल पशुपन्छी औषधी व्यवसायी संघमा बस्ने पदाधिकारीहरु एकाध बाहेक अधिकांश नक्कली एवं गैरकानूनी काम गरेकै कारण विवादमा आउने गरेका छन् । त्यत्तिमात्र होइन केही पदाधिकारीहरुले त गैरकानूनी ढंगबाट अकुत सम्पत्ति कमाएको विषयमा उजुरी परेपश्चान अनुसन्धान कै क्रममा छ ।

अहिले नेपाल पशुपन्छी औषधी व्यवसायी संघको १३ औ अधिवेशन तथा ३१ औ साधारणसभा फागुन २० र २१ गते भैरहवामा हुन गईरहेको छ । यो अधिवेशनले पशुपन्छी औषधी व्यवसायीहरुको हितका लागि र किसानको हितका पक्षमा वकालत हुन्छ कि भन्ने आशा विगतमा देखिएको भएपनि अहिले अध्यक्ष, महासचिव लगायत पदाधिकारीको उम्मेदवारीले पशुपन्छी औषधी व्यवसाय व्यवस्थित, मर्यादित हुनेका शंका उत्पन्न भएका छ ।
अध्यक्ष पदका लागि प्रतिष्पर्धाका उत्रिएका दुई अध्यक्ष पूर्णचन्द्र सापकोटा र यज्ञराज ढकाल दुवैलाई पशु औषधीका नाममा पानी बेचुवाहरुको आरोप लागेको छ । केही समय अघि यी दुवै जनाले विदेशबाट आयात गरी विक्री वितरण गरेको पशु औषधीको गुणस्तरमा प्रश्न उब्जिएको मात्र होइन परिक्षण गर्दा औषधीको मात्रा नै नभएको पुष्टि भएको थियो ।

नेपाल पशुपन्छी औषधी व्यवसायी संघको १३ औ अधिवेशनमा नेतृत्वको उम्मेदवारी दिएका दुइ मध्ये एकले नै संघ हाँक्ने जिम्मेवारी पाउनेमा कुनै शंका गर्नु पर्ने अवस्था छैन । यसले आगामी दिनमा पशुपन्छी औषधी आयात विक्री वितरण र किसानहरुले गुणस्तरीय पशु औषधी पाउँछन् भन्नेमा प्रश्न चिन्ह खडा भएको छ ।

प्रकाशित मिति: मङ्लबार, फाल्गुन १७, २०७८