बिहिबार, चैत्र १५, २०८०

बागमती प्रदेशका कृषि मन्त्रीको हावादारी गफ, रासायनिक अभाव नहुने रे ?

काठमाडौं । पदमा बसेर हावादारी गफ हाँक्ने बागमती प्रदेशका कृषि मन्त्री बसुन्धरा हुमागाईँको गफ सुनेर मण्डनदेउपुरका जनताले ताली बजाए । आफ्नै जिल्लाबासी कृषि मन्त्री भएर आएपछि मनमा जे भएपनि उनको स्वागतका लागि उनीहरुले ताली बजाएका हुन् । किनकी कृषि मन्त्री हुमागाईँले मकैको सिजनमा रासायनिक मल अभाव नहुने भन्दै चर्को भाषणा गरिरहेका थिए । त्यही भाषणमा दङ्ग परेका थिए मण्डनदेउपुरका किसान ।

मन्त्री हुमागाईँलाई थाहा हुन पर्ने थियो । उनले गृहजिल्लाका किसानहरुलाई मलको अभाव नहुने बताईरहँदा मुलुकभर कुनै पनि कृषि सामग्री कम्पनीमा रासायनिक मलको एक गेडा पनि पाउन मुश्किल पर्दछ भन्ने कुरा उनले विर्षिए । कृषि सामग्री कम्पनी केन्द्रिय कार्यालयको तथ्यांकमा पनि मुलुक भर नै रासायनिक मल अभाव देखिन्छ ।

सरकारले भारतसँग जिटुजीको माध्यमबाट रासायनिक मल दिने भने पनि हालसम्म उपलब्ध भने गराएको छैन । र आउने संकेत पनि देखिएको छैन । तर किसानका एजेण्डा वोकेर हिड्नु पर्ने कृषि मन्त्री भने यो समय र त्यो समयमा मल अभाव नहुने भन्दै गफ दिने गर्दछन् ।

रासायनिक मल के कारणले अभाव भईरहेको छ भन्ने हेक्का समेत नराख्ने हावादारी मन्त्री हुमागाईँ अझ नेपालमा नै रासायनिक मल कारखाना खोल्न सकिने दिवास्वप्न आफ्ना मतदाताहरुलाई बाँडिरहेका छन् ।

नेपालमा रासायनिक मल कारखाना खोल्ने भनेको चिया पसल खोलेजस्तो सजिलो छैन मन्त्रीले हेक्का राख्नु पर्ने थियो तर त्यसो गरेनन् । मुलुकभर यतिखेर रासायनिक मलको हाहाकार छ मन्त्री हुमागाई मण्डनदेउपुर तिर लाग्दै गर्दा बनेपा, धुलिखेल, पाँचखाल कुन्तावेशी हुँदै पुगे होलान् सायद ।

तर उनले त्यही बाटोमा विगतमा रासायननिक मल विक्री गर्ने विक्री केन्द्र किन वन्द छ भनेर सोध्ने हिम्मत गरेनन् ? त्यसकारण पनि कृषि मन्त्री हुमागाई खुरुखुरु जागिर खानुस् हावादारी गफ दिएर नहिड्नुस ।

प्रकाशित मिति: आइतवार, फाल्गुन १, २०७८