शुक्रबार, चैत्र १६, २०८०

बाली उपचार शिविरबाट किसानलाई राहत

पाल्पा । पाल्पाको तानसेन नगरपालिकाले अन्नबाली भाइरसका कारण हुने क्षतिलाई न्यूनीकरण गर्न बाली उपचार शिविर सुरु भएको छ । अन्नवाली, तरकारी तथा फलफूलमा भाइरसको आक्रमणले नष्ट गर्न थालेससँगै तानसेन नगरपालिका र ग्रामीण आर्थिक विकास सङ्घ पाल्पाले बालीमा उपचार शिविर अभियानकैरुपमा सञ्चालनमा ल्याएको हो ।

कृषि बालीमा देखिएका समस्यालाई पहिचान गरी त्यसको व्यवस्थापनका लागि शिविर सञ्चालन गरिएको सङ्घका विज्ञ थमन कार्कीले बताउनुभयो । अन्नवाली तथा तरकारी, फलफूलमा विभिन्न किसिमका रोगले उत्पादनमा कमी आएको छ ।

फल फलेपनि पहेँलो भएर झर्ने, पात तथा हाँगा सुक्ने, पात कुहिने, जरा कुहिने तथा पात किराले खाने जस्ता समस्या पछिल्ला वर्षमा देखिएको विज्ञ कार्कीको भनाइ छ । कृषि बालीमा देखिएका समस्यालाई समाधान गर्न विषादीको प्रयोग गरी किटाणुको व्यवस्थापन गर्न सकिने छ । तर, मानव स्वास्थ्यका लागि रसायनिक विषादीको प्रयोग भन्दा एकीकृत तथा जैविक विधिका माध्यमबाट किटाणुको व्यवस्थापन गर्न सकिने सुझाव कार्कीको छ ।

कार्यक्रममा तानसेन नगरप्रमुख अशोककुमार शाहीले बाली शिविरबाट अन्नबाली, तरकारी तथा फलफुलमा लागेको रोगको पहिचान गर्न सहज हुने बताउनुभयो । उहाँले कृषिमा उत्पादन वृद्धि गरी व्यवसायिक बन्नका लागि कृषि सम्वन्धी ज्ञानको आवश्यक रहने बताउनुभयो । उहाँले अन्नवाली, तरकारी तथा फलफूलमा कस्ता कस्ता समस्या देखिएका छन् त्यसको व्यवस्थापनका लागि किसान नै पहिला जानकार हुनुपर्ने बताउनुभयो । नगरउपप्रमुख लक्ष्मीदेवी पाठकले शिविरशार्फत कृषि उत्पादन वृद्धि हुने र किसानले बढीभन्दा बढी लाभ लिन सक्ने बताउनुभयो । तानसेन नगरपालिकाको अर्गली, बर्तुङ्ग क्षेत्रमा पहिलो चरणमा बाली शिविरबाट झण्डै १०० किसान लाभान्वित भएको सङ्घका कार्यकारी निर्देशक लिलाबहादुर कार्कीले बताउनुभयो । शिविरमार्फत अन्नवालीमा देखिएका रोगको पहिचान गरी व्यवस्थापन गर्न सहज बनाइएको सङ्घका कार्यकारी निर्देशक कार्कीले बताउनुभयो । कृषि /रासस

प्रकाशित मिति: शुक्रबार, पुस ९, २०७८