बिहिबार, चैत्र १५, २०८०

पशु सेवा विभागलाई आफ्नो प्रभावमा पार्दै पशुपन्छी औषधी व्यापारीहरु

काठमाडौं । पशु सेवा विभागले नीति नियमलाई कडाई गरेकै कारण पशुपन्छी औषधी व्यापारीहरु यतिखेर तिल्मिलाएका छन् । किसान मारेर रातारात धनी हुनेहरु मध्ये पशुपन्छी औषधीका व्यापारीहरु धेरै छन् । पशुपन्छी औषधी आयातका र विक्री वितरणका नाममा गैरकानूनी कार्य गरेर नै राज्यमाथि दोहन गरी रहेका छन् ।

पशुपन्छी औषधीका नाममा के के ल्याए ल्याए । औषधी व्यवसायी संघका पूर्व अध्यक्ष लगायत पदाधिकारीहरुले त त्यही संस्थालाई भजाएर आफ्नो स्वार्थपूर्ति पनि गरे । सरकारले प्रतिवन्ध लगाएको एण्टिवायोटिक ल्याएर विक्री वितरण गर्ने काम गरिरहेका छन् । पशु सेवा विभागबाट फिड सप्लिमेण्टको चिठ्ठी बनाउने र त्यसको नाममा धन्दा नै चलाउने आयातकर्ताहरु तीन दर्जन भन्दा माथि नै छन् । अहिले पशु सेवा विभागमा आफ्नो स्वार्थ अनुकूल मापदण्ड बनाउनका लागि पशुपन्छी औषधी व्यवसायीहरु धाईरहेका छन् ।

कहिले मन्त्री त कहिले प्रधानमन्त्री कै शक्ति देखाउन पनि व्यवसायीहरु पुग्ने गर्दछन् । नेपालमा लुटको व्यवसायको अर्को नमूना हो पशुपन्छी औषधी व्यवसाय । पशु सेवा विभागले फिड सप्लिमेण्टका नाममा जारी गरेका पत्रलाई औषधी व्यवस्था विभागले एण्टिवायोटिक भित्र्याउन दिएको धेरै उदाहरण छन् । त्यत्तिमात्र होइन भन्सार कार्यालयमा आर्थिक सेटिङ मिलाएर कागज नै अर्कै बनाउने कुकृत्य गर्न पनि निकै सिपालु छन् व्यवसायी संघका पदाधिकारीहरु ।

अहिले पशु सेवा विभागको महानिर्देशकलाई यो वा त्यो बहानामा आफ्नो अनुकूल मापदण्ड बनाउने कोशिशमा व्यवसायीहरुले पटक पटक वैठक राख्ने, मन्त्री सचिव मार्फत दवाव दिन लगाउने काम पनि गरिहेको बुझ्न आएको छ । सोमबार पनि पशुपन्छी औषधी व्यवसायीहरुको ठूलो समूह पशु सेवा विभागमा पुगि वैठक सम्पन्न समेत गरेको थियो । पशुपन्छी औषधी आयातकर्ताहरु मध्ये ९५ प्रतिशतले गैरकानूनी ढंगले व्यवसाय गर्दै आईरहेको पशुपन्छी औषधी आयातकर्ता मध्येका एक व्यवसायीले आरोप नै लगाएका छन् ।

प्रकाशित मिति: सोमवार, मंसिर २७, २०७८