शुक्रबार, चैत्र १६, २०८०

अनुदानका दिएको आलुको बीउ कुहिएर नष्ट

सिमकोट। हुम्लाको सदरमुकाम सिमकोटका किसानले खाडलमा भण्डारण गरी राखिएको सयौं क्विन्टल आलु कुहिएर नष्ट भएको छ ।

सिमकोट गाउँपालिका–५ तल्लो गाउँका किसानले हिउँदको समयमा तरकारी र बीउका लागि खाडलमा भण्डारण गरिएको आलु कुहिएर नष्ट भएको हो । तरकारी र बीउका लागि भण्डारण गरी राखिएको सयौँ क्विन्टल आलु कुहिएर नष्ट भएपछि यहाँका किसान चिन्तित भएका छन् । बीउका लागि र हिउँदमा खानका लागि खाल्डोमा भण्डार गरी राखिएको आलु कुहिएपछि थप समस्या बनाएको सिमकोट गाउँपालिका–५ का किसान माल्ती रोकायाले दुःखेसो गर्नुभयो ।

शीतभण्डारका लागि घर नजिकैको बारीमा खाल्डो खनेर राखिएको आलु कुहिएर खेर गएको स्थानीयवासी किसान रोकायाले बताउनुभयो । ६० केजीका नौ बोरा आलु जमिनमा खाल्डो खनेर गाडेको भए पनि कात्तिक पहिलो हप्ता तीन दिनको अविरल वर्षाले पानी पसेर कुहिएपछि त्यत्तिकै फाल्नुपरेको उहाँले बताउनुभयो । सबै आलु कुहिएपछि खान मात्र नभइ बीउ जोगाउनै मुस्किल भएको छ ।

यसैगरी स्थानीयवासी सुकिल्ली रोकायाको पनि आठ बोरा आलु कुहिएर काम नलाग्ने भएको छ । बारीमा खाल्डो खनेर गाडेर राखेको हिउँदका लागि तरकारी खाने र बीउका लागि राखेको आलु कुहिएर काम नलाग्ने भएपछि सबै फाल्नु परेको उहाँको भनाइ छ ।

अविरल वर्षाले आलु कुहिएपछि त्यत्तिकै खेर गएको स्थानीयवासी अर्का किसान मुक्ति रावतले बताउनुभयो । खाने आलुभन्दा बीउका लागि समस्या भएको उहाँको भनाइ छ । शीत भण्डारका लागि खाल्डो खनेर जमिनमा गाडिएको आलु वर्षाका कारण कुहिएपछि किसान हिउँदमा खाने तरकारी र बीउका लागि चिन्तित भएका हुन् ।

सिमकोट गाउँपालिका–५ का अधिकांश किसानको तीनदेखि चार क्विन्टल आलु कुहिएर खेर गएको छ । आलु भण्डारणका लागि उपयुक्त साधनस्रोत नहुँदा हिउँदमा खाने र बीउका लागि खाडलमा राखिएको आलु नष्ट हुँदा लाखौं मूल्य बराबरको नोक्सानी भएको वडा नं ५ सुन्दर रावतले बताउनुभयो । उहाँले भन्नुभयो,“हिउँदमा अधिकांश किसानले खाडलमा भण्डारण गरिएको आलु बिक्री समेत हुने गथ्र्यो तर यो वर्ष बेमौसमी वर्षाले ठूलो क्षति गरेको छ ।” अब अर्को वर्ष बीउका लागि यहाँका किसानलाई थप समस्या निम्तिने उहाँको भनाइ छ ।रासस÷कृषि साप्ताहिक

प्रकाशित मिति: बिहिबार, कार्तिक २५, २०७८