शुक्रबार, बैशाख ७, २०८१

सरकारसँग हामीलाई कुनै आशा नै छैन : पुष्प व्यवसायी कसुजु

लकडाउनले गर्दा धेरै किसिमका व्यवसायहरू धरापमा परेका छन् । साना ठूला सबै व्यवसाय सञ्चालन गर्नेहरूमा युले ठूलो नोक्सानी गरेको छ । यसै सन्दर्भमा सहरमा पुष्प व्यवसाय सञ्चालन गरेकाहरू पनि अहिले मारमा रहेका छन् । यो अवस्थामा व्यवसाय र ऋणको मारमा किसानी पेशा गर्नेहरू रहेका छन् । यसै सन्दर्भमा पुषप व्यवसायीहरू के महसुस गरिरहेका छन् व्यवसायको सन्दर्भमा भन्ने कुरा बुझ्न र किसानका समस्याहरू पहिल्याउन कृषि अनलाइनका सम्पादक वैकुण्ठ भण्डारीले फ्लोरिकल्चर एसोसियसनका अध्यक्ष कुमार कसुजुसँग गरिएको कुराकानी:

कस्तो छ नर्सरी व्यवसायको अवस्था बताइदिनुहुन्छ कि ?
यस वर्षमात्र नभएर गतसालदेखि नै नर्सरी व्यवसाय लथालिङ्ग अवस्थामा छ । ०७६ सालको लकडाउनदेखि नै पुष्प व्यवसाय एकदमै धरापमा परेको छ । व्यवसाय राम्ररी चलेको छैन । ठप्प छ भन्दा हुन्छ । ०७७ सालको असारमा आएर बिस्तारै व्यवसायले पिकअप लिँदै गएको थियो । लगभग हामीले चालिस प्रतिशत व्यवसाय गरिरहेका थियौं । फेरि आएर लकडाउन भएपछि व्यवसाय पूर्णरुपमा ठप्प भएको छ । हाम्रो यो नर्सरी व्यवसायमा लकडाउनकै कारण एक करोडको हाराहारीमा घाटा भइसकेको छ । तैपनि हामी आफ्नो पीडा कसैलाई पोखिरहेका छैनौं । किनभने हाम्रो पीडा एक ठाउँमा छ र सरकारको पीडा अर्को ठाउँमा छ । यद्यपि हामी व्यवसायीकाबीच कुराकानी भइराखेको छ । भर्चुअल रुपमा मिटिङहरु गरिरहेका छौं ।

यस्तो विषम परिस्थितिमा पनि नर्सरी व्यवसाय कसरी चलेको छ त?
अहिलेको अवस्थामा केही गर्न सकिने अवस्था पनि छैन । किन भन्दा अहिलेको अवस्था सर्वप्रथम आफ्नो जीवनरक्षा र परिवारको जीवनरक्षा नै हो । र अर्को भनेको स्वास्थ्य मापदण्ड अपनाएर कमसेकम नर्सरीमा एकपटक उपस्थित भएर बिरुवालाई मर्न नदिन पानी हाल्ने हो त्योभन्दा बढी सोच्न मिल्दैन । कुनै न कुनै दिन त यो कोरोना शान्त होला नि भनेर आफ्नो व्यवसायलाई मर्न नदिने र आफू पनि सुरक्षित हुने हिसाबले हामी अघि बढिरहेका छौं ।

आर्थिकरुपमा करोडको क्षतिको कुरा पनि गर्नुभयो । तपाईं पुष्प व्यवसायी संघको अध्यक्ष पनि रहनुभएकोले के भन्नुहुन्छ सरकारलाई ?
गतवर्ष हामीले सरकारलाई पुष्प व्यवसायलाई मर्न नदिन धेरै अनुनय विनय नै गर्यौं । बजेटमा पनि यस क्षेत्रको विकासको लागि केही गर्नुपर्यो भनेर पनि भन्यौं तर, कार्यक्रम आउँदा पुष्प व्यवसायको हकमा शून्य बजेट आयो तसर्थ हामी सरकारसँग अहिले कुनै पनि माग नराख्ने बिचारमा छौं । केही माग्दैनौं पनि । जबसम्म सरकारले हरेक उद्यमको महत्व बुझ्दैन तबसम्म सरकारलाई भनिरहनुको अर्थ छ जस्तो पनि मलाई लाग्दैन । भनिराख्दा हामी अपेक्षा गर्छौं र अपेक्षा पूरा नहुँदा हामी दुःखी हुन्छौं । तसर्थ दुखी हुनलाई किन भनिराख्ने ? भन्ने लाग्छ । व्यवसायिक हिसाबले पनि र म आफैं पनि अब सरकारसँग यसो गरिदिनुहोस् भनेर भन्ने अवस्थामा छैन ।

चुपचाप बसेर पनि समस्या त समाधान नहोला नि होइन र ?
पेशागत जानकारी चाँहि हामी सरकारलाई गराउँछौं । यो व्यवसायमा यति क्षती भएको छ । कति मान्छेले रोजगार गुमाए भन्ने जानकारी त दिनपर्छ । यो कर्तव्यभित्र पर्ने कुरा भयो । व्यवसायीहरु बैंकको ऋण तिर्न नसकेर मानसिकरुपमा विक्षिप्त भइरहेको अवस्था छ । व्यवसायीहरुको सम्पत्ति बैंकले लिलाम गर्न लागेको छ । यी कुराहरु हामी सरकारलाई जानकारीचाँहि गराउँछौं । कर्तव्यभित्र पर्ने कुराको जानकारी दिनुचाँहि आशा राख्नु होइन । यद्यपि कोभिडबाट रिभाइभ हुनको लागि सरकार यसो गरिदेऊ, उसो गरिदेऊ भनेरचाँहि हामी भन्दैनौं ।

सरकारले केही पनि नगरेको त हैन होला नि ?
सरकारले गतसाल मौद्रिक नीति ल्याउँदाखेरी पुष्प व्यवसायलाई थोरै राहत भएको थियो । त्यस नीतिमा पुष्प व्यवसाय नै भनेर थोरै चीज राखेको थियो । त्यो हाम्रो लागि राम्रो पक्ष हो किनभने त्यस्तो नीति बन्दा हामीलाई व्यवसायबाट रिभाइभ हुन केही न केही सहयोग पुर्याउँछ भन्ने लाग्छ । अनि पुनकर्जामा पनि पुष्प व्यवसायलाई पनि जोड्ने भन्ने जुन खाले नीति आएको छ । त्यसले बैंक तथा बित्तीय संस्थासँग काम गरिरहेका व्यवसायलाई सपोर्ट पुगेको छ । तर, त्यतिले मात्र व्यवसायी माथि उठिहाल्ने अवस्था छैन ।

सरकारले के गरिदिने हो भने यस्तो व्यवसाय माथि उठ्छ अहिलेको अवस्थामा ?
नेपालको अर्थतन्त्रको यसबेला जुन डरलाग्दो अवस्था छ । त्यसभित्र हामी व्यवसायी पनि पर्ने हुँदा जब व्यवसायले आफैं फाइदा कमाउन सक्ने हुन्छ, जब व्यवसायहरु स्मुथरुपमा चल्न थाल्छ तब मात्र फूलको खरिद बिक्रीको काम हुने हो । फूलको व्यवसाय हुनलाईचाँहि अन्य व्यवसाय राम्ररी चल्नुपर्ने हुन्छ । यस्तो अनौठो अवस्था छ । त्यसकारण होटेल, पर्यटन, रेष्टुरेन्ट र पार्टी प्यालेसहरु चले मात्र हाम्रो व्यवसाय अटोमेटिक चल्ने हो । नभए चल्दैन । त्यसैले पुष्प व्यवसायीको फाइदाका लागि त्यतातिरको पाटो चल्नु आवश्यक हुन्छ । यस्तो घरेलु उद्यमहरु भनेको देशको महत्वपूर्ण अंग हो । घरेलु उद्यमले धेरै मान्छेलाई रोजगारी दिएको हुन्छ । धेरै मान्छे यो व्यवसायसँग कुनै न कुनै रुपमा संलग्न रहेका हुन्छन् । खाली पुष्प व्यवसाय मात्र नभएर घरेलु उद्यमका लगि सरकारले राम्रो पोलिसी बनाइदियो भने पनि हामी माथि उठ्छौं । हामी पनि त्यसमै छौं व्यवसाय उठिहाल्छ ।

अर्थतन्त्र नै धरापमा परेको बेला पुष्प व्यवसायीलाई उठ्न के गरिदिने हो भने सहज हुन्थ्यो ?
हामीले ०६९ सालमा पुष्प प्रबर्धन नीति बनाएका छौं । त्यसमा लेखिएका कुराहरु मात्र सरकारले लागु गरिदिने हो भने व्यवसाय माथि पुग्छ । अर्थतन्त्र पनि माथि उठ्छ । व्यवसायलाई बचाउन के के गर्ने भनेर त्यसमा हामीले व्यवसायीको लागि पनि सरकारको लगि पनि नीति नै बनाइसकेका छौं । त्यसमा दुवैको भूमिका निक्र्यौल गरिएको छ । त्यो पुष्प प्रबर्धन नीतिलाई सरकारले कार्यान्वयन गर्नुपर्यो । केन्द्रीय सरकार हुँदा हामीले बनाएको त्यो नीति संघीय र स्थानीय सरकार बनेपछि भने थन्किएर रहेको अवस्था छ । त्यसलाई कार्यान्वयनमा ल्याउनुपर्छ । त्यो ल्याउने बित्तिकै देशभरका पुष्प व्यवसायीको समस्या हल हुन्छ ।

अर्को यो व्यवसाय सहर केन्द्रित व्यवसाय नै हो । तसर्थ सरकारले भू उपयोग नीति ल्याउने हो भने पनि व्यवसायीका समस्या हल हुन्छ । त्यस्तो नीति ल्याउने भनेको पनि थियो र त्यो ल्याउन सकेको छैन । हामीले जग्गा लिजमा पाउँदा कम्तीमा पनि दस वर्ष पाउने हो भने नर्सरीलाई एक ठाउँबाट अर्को ठाउँमा सारिराख्न पर्दैन थियो । काठमाडौंमा जग्गाको भाउ बढ्दै गएपछि जग्गाधनीले नर्सरी सार भन्ने दबाब पाउँछन् । कम्तीमा दसवर्षको सम्झौता गरी जग्गा भाडामा पाउने हो भने त्यो झन्झट आउँदैनथ्यो । अहिलेको अवस्था के छ भन्दा जोसँग जग्गा छ त्यो मान्छेले खेती नगर्ने । जोसँग जग्गा छैन उसले खेती गर्ने भइरहेको छ । त्यस कारण भू उपयोग नीति आवश्यक छ । जसले कृषि कर्म गर्नेलाई सहज होस् । भू उपयोग नीति, र पुष्प प्रबर्धन नीति कार्यान्वयन हुने हो भने यस्तो व्यवसाय गर्नेलाई झन्झट सहन पर्दैन । देशको अर्थतन्त्रको उन्नति पनि हुन्छ । यसको बजार पनि अन्राष्ट्रिय स्तरसम्म पुग्छ ।

अन्त्यमा केही भन्न चाहानुहुन्छ ?
विदेशमा श्रम गर्न गएका युवाहरुलाई यहीँ रोक्न पनि यो नीतिले काम गर्छ । स्वदेशमा नै राम्रो आम्दानी हुने हो भने विदेश जान आवश्यक पनि रहँदैन । स्वदेशमा व्यवसाय गर्ने वातावरण बन्ने बित्तिकै हामी माथि परिहाल्छौं । युवाहरुको जोश जाँगर चलिहाल्छ । त्यसले हामी आात्मनिर्भर हुन सक्छौं । यस्तो क्षेत्रको महत्व पनि बुझिन्छ । यस क्षेत्रमा प्रशस्त मान्छेले रोजगारीक अवसर पाउँछन् । त्यसैले भू उपयोग नीति बन्न आवश्यक छ र पुष्प प्रबर्धन नीति जो हामीले चार वर्ष लागु पनि गरेका थियौं त्यो लागु हुनु एकदमै जरुरी छ ।

प्रकाशित मिति: शनिबार, जेष्ठ २९, २०७८