बिहिबार, चैत्र १५, २०८०

मनसुन भित्रिएपछि किसानलाई थोरै राहत

कोरोनाको त्रासदी र महामारीका चपेटामा परे पनि किसानको चिन्ता फरक छ । उनीहरु मनसुन भित्रिएला र काम सुरु गरौंला भन्नेमा थिए । अर्कोतिर मनसुन भित्रि नसक्दै धान काटिसक्नु छ । पहाडमा केही जिल्लामा भने अझै धान काटेर सकिएको छैन । मकै लगायत खेती खडेरीले खारिरहेको बेला धान भिजे पनि किसान मकै तंग्रिएकोमा खुशी छन् । पौरखी किसानलाई यस्तो अवस्थामा पानी परिदिनाले केही राहत भएको छ ।

टन्टलापुर लगातारको घामले लगलगान भएका किसान पानीका छिटा वर्षन थालेपछि फुरुङग भई काममा जुटेका छन् । घरमै बसेर हातमुख जोडिन्न । बर्खा शुरु हुँदैछ । खेतीपाती नगरी भएन । कोरोना छलेर कामधन्दा गर्नुछ । महामारीबीच रोपाइँको याम शुरु भएको छ । गलकोटलगायत जिल्लाका कतिपय भेगमा जेठ दोस्रो सातादेखि नै रोपाइँ हुन थाल्ने भए पनि वर्षको अभावले रोकिइरहेको थियो । धानको बीउ पनि छिप्पिसकेको छ । एकातिर कोरोना सङ्क्रमणको जोखिम र भय, अर्कातिर रोपाइँको चटारो । किसानलाई भ्याइनभ्याइ छ । के गर्ने काम नगरे वर्षभरि खान पाइन्न । महामारीबाट जोगिएर खेतीपाती लगाउनुको विकल्प किसानसँग छैन । तैपनि मनसुनका भित्रिँदा किसानको आँखामा जुन चमचमाहट देखिएको छ सायदै त्यसलाई शब्दले वर्णन गर्न सकिएला ।

किसानलाई खेतबारीमा काम गर्दा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन स्थानीय तहहरुले आग्रह गरेका छन् । रोपाइँमा पनि भौतिक दूरी कायम गर्न, कम मानिस मात्र भएर खेतीपाती गर्न, खाजाको प्रबन्ध घरबाटै गर्न तथा खेतमा आउने र घर फर्कने समयमा अनिवार्यरूपमा मास्क लगाउन स्थानीय तहले आग्रह गरेका छन् । कोरोनाबाट पनि जोगिएर जसरी पनि रोपाईं नसकी भएन भन्दै किसानहरु ह्ह तारे हह हह माले हह गर्दै खेतमा खटिरहेका छन् ।

प्रकाशित मिति: शनिबार, जेष्ठ २९, २०७८