शुक्रबार, चैत्र १६, २०८०

हलो जोत्ने जोतारेहरुको बस्ती नै भोकमरीको मारमा पर्छन् भने, कसरी कृषि क्रान्ति हुन्छ ?

बझाङ । २५ दलित परिवारको बसोवास गर्ने एक बस्ती जो जमिनदारको हलो जोतेर गुजारा गर्दे आइरहेको थियो यसबेला भोकमरीको मार खेपिरहेको छ । खबर हो बझाङ जिल्लाको थलारा गाउँपालिका—८, बिसखेतमा रहेको हलिया बस्तीको । जुन बस्ती थलारा गाउँपालिकाको केन्द्रदेखि ३० मिनेटको दूरीमा पर्दछ । यही बस्तीको कथा हो भोकमरी । काम गर्ने हलियालाई भोकले टाट पल्टाएर जमिनदारहरु ऐश आरामले गुजारा गर्ने देशको हामी नागरिक हौं भन्नमा कुनै संकोच मान्न पर्दैन ।

उनीहरु सानो भुपडीमा बस्छन् । जहाँ एक सय सात जनाले निदाउनुपर्छ । यस्तो अवस्थाका हलियालाई भोक मेटाउनुपर्ने राज्य राजनीतिको किचलोमा निदाएको छ । उनीहरु बताउँछन्, ‘‘हामी सबै परिवारको जग्गा भनेको यही घर भएको ठाउँ मात्रै हो । अन्त घर बनाउन जग्गा छैन । अन्त जग्गा किनेर घर बनाउँ भने बिहान बेलुकाको खाना जोहो गर्न नै गाह्रो छ ।’’ जोतारहरुको यो अवस्था हुँदा राज्यको दायित्व के हो भनेर कसले बुझाइदिने मन्त्रालयका हाकिमहरुलाई ? जमिनमाथि कब्जा गरिरहेका माफिया किसान नामका जुकाहरुलाई कसले बुभाइदिने यो तथ्य ?

पुस्तौनीरुपमा नै हलो जोतेर गुजारा गरिरहेका यहाँका दमाईं परिवारको आँशु कसले पुछिदेला ? मन चीसो भएर आउँछ । यिनीहरु पूर्णरुपमा मालिकको आश्रयमा थिए । सुदूरपश्चिममा हलियप्रथा अझै कायमै छ । कागजमा हलिया प्रथा उन्मुलन पनि भएको सुनिएको थियो । जमिनका मालिकहरु नै राजनैतिक पार्टीका कार्यकता हुँदा हलियाप्रथा उन्मुलन भएकै छैन । अर्कोतिर पैंसठ्ठी सालमा हलिया उन्मुलनको घोषणा भएपछि साहु रिझाएर भए पनि भात खाएका हलिया दमाईंको हलो जोत्ने काम नै खोसियो । ज्याला नदिई काम लगाउन पल्केका साहु महाजनलाई हलियाप्रथा अन्त्य भएको मनै परेन र दमाईंहरु काम र मामबाट खोसिए । साहुको हलो जोतेवापत दिने केही अन्नबालीले दमाईं परिवारको चुलोमा खाना पाक्थ्यो । जो अब हुन सक्तैन ।

अर्कोतिर साहुले हलियालाई दिएको ऋण फिर्ता मागेर हैरान पार्ने काम पनि चलिरहेकै छ । पचासौं वर्ष हलो जोतेर पनि उनीहरुको ऋण चुक्ता भएको छैन कतिले जेनतेन ऋण तिरे पनि कतिपयको भने अहिलेसम्म चुक्ता भएको छैन । साहु ऋण असुल्न घर धाइरहन्छन् । सरकारले यसलाई आँखाले देख्न सकेको छैन । बश, ऊ त धरहराको टुप्पोमा अहंकारको आगो तापिरहेको छ । दमाईं बस्तीको भोकमरी कसले देख्ला र खै ? अनि भन्न मन लाग्छ हलो जोत्ने जोतारेहरुको बस्ती नै भोकमरीको मारमा पर्छन् भने कसरी कृषि क्रान्ति हुन्छ ?

प्रकाशित मिति: शुक्रबार, जेष्ठ २८, २०७८