शुक्रबार, चैत्र १६, २०८०

रासायनिक मल प्रशस्त, कोभिड १९ का कारण वितरणमा समस्या

काठमाडौं । नेपालको मुख्य बाली धानको सिजन शुरु हुन लाग्दा रासायनिक मल वितरणमा समस्या देखा पर्न थालेको छ । रासायनिक मल विक्री वितरण गर्दै आईरहेको सरकारी संस्था कृषि सामग्री कम्पनीसँग प्रशस्त मात्रामा युरिया, डिएपी र पोटास मल मौज्दात रहँदा पनि कोभिड १९ का कारण किसानहरुसम्म मल वितरणमा समस्या पर्न थालेको छ ।

विशेषत ः कृषि सामग्री कम्पनीसँग मल खरिद गरी लैजाने सहकारी तथा अन्य संस्थाहरुले मल खरिदका लागि बैक वित्तिय संस्थाहरु कोभिड संक्रमणको कारण आलोपालो गर्दै खुल्ने गरेका कारण र सहज रुपमा बैकिङ्ग काराबार हुन नसक्दा मलको समस्या देखिन थालेको छ ।

सरकारले मुलुकको प्रमुख बाली धान लगाउने सिजनमा कोभिड संक्रमण फैलिदै गईरहेको अवस्थामा विभिन्न जिल्लामा निषेधाज्ञान जारी गरेका कारण रासायनिक मल ढुवानी गर्ने सवारी साधनहरुले सहज ढुवानी गर्न पाएका छैनन् । जसका कारण पनि बीरगञ्जबाट अन्य जिल्ला तथा कृषि सामग्री कम्पनीको गोदामबाट मल जिल्ला जिल्लामा पठाउन कठिन भएको देखिन्छ ।

कोभिड संक्रमणको समय भएपनि किसानहरुलाई मल अभाव हुन नदिने कृषि सामग्री कम्पनीले आफ्ना कर्मचारीलाई नियमित काममा लगाईरहेको छ । मल सहजीकरण गर्नका लागि खटिएका कृषि सामग्री कम्पनीको धेरै कर्मचारीलाई कोभिड सक्रमण देखिएपछि रासायनिक मल वितरण कार्यमा निकै कठिनाई परिरहेको कृषि सामग्री कम्पनीका प्रवन्ध सञ्चालक नेत्र भण्डारीले कृषि अनलाईनलाई जानकारी दिएका छन् । ‘हामी कोभिड संक्रमणको जोखिमका बावजुत पनि मल सहज आपूर्तिका लागि कार्यालयमा खटिएका छौं, कार्यक्षेत्रमा नै खटिएका कतिपय कर्मचारी साथीहरु कोभिड संक्रमणमा पर्नु भएको छ, तैपनि हामी मल सहज रुपमा किसानसम्म पुगोस् भन्ने हेतुले काम गरिरहेका छौं ’ भण्डारीले भने ।

रासायनिक मल गोदामबाट जिल्ला जिल्लामा पु¥याउन कर्मचारीहरु दिनरात खटिँदा पनि रासायनिक मल ढुवानीका लागि सम्वन्धित जिल्ला प्रशासन कार्यालयले सहजीकरण नगरी निषेधाज्ञा पालना गर्नु निर्देशन आउने गरेकाले कम्पनीका सूचना अधिकारी राजेन्द्र बहादुर कार्कीले बताए ।

‘कृषि सामग्रीसँग प्रशस्त मल छ, हामी किसानहरुको आवश्यकता अनुसार वितरण गर्न सक्छौं । तर कोभिड १९ संक्रमण नियन्त्रण र रोकथामका लागि सरकारले जारी गरेको निषेधाज्ञाका समयमा रासायनिक मललाई पनि अत्यावश्यक बस्तुका रुपमा नराखिएकाले ढुवानीमा समस्या परेको छ’ । सूचना अधिकारी कार्कीले दुखेको गरे ।

कार्की भन्छन्,‘ हामी किसानहरुसम्म कसरी रासायनिक मल सहज रुपमा पु¥याउन सकिन्छ भन्नेमा नै लागिरहेको छौं । त्यसका लागि मल खरिद गरी विक्री वितरण गर्दै आईरहेका संस्था एवं सहकारीहरुले वैक खुलेको समयमा रकम जम्मा गरिदिने हो भने मल वितरणमा निकै सहज हुनेछ । ’

अहिले धानको सिजनका लागि पर्याप्त मात्रामा रासायनिक मल कृषि सामग्री कम्पनीसँग मौजात रहेको कम्पनीले जानकारी दिएको छ । कम्पनीसँग अहिले २१ हजार मेट्रिक टन युरिया, ४५ हजार ७ सय मेट्रिक टन डिएपी र ४ हजार ६ सय मेट्रिक टन पोटास गोदाम मौज्दात रहेको छ ।

प्रकाशित मिति: बिहिबार, जेष्ठ १३, २०७८