शुक्रबार, बैशाख ७, २०८१

पापी कोरोनाका कारण बाली जोतेर नष्ट गर्नुको विकल्पै छैन

काठमाडाैं । कोराेना महामारीको मार सबैभन्दा धेरै किसानले भाेगिरहेका छन् । किसानले खेती गरेका उपजहरूले यसबेला बजार पाउन सकेका छैनन् । अन्य बाली जस्तै मुला किसान पनि मार खेपिरहेका छन् लकडाउनले । यतिबेला तयारी अवस्थामा रहेको मुला बिक्री नभएपछि खेतमै जोतेर नष्ट गर्न बाध्य भएका छन् किसान । यस्तै अवस्था भयाे बीस वर्षदेखि व्यावसायिक तरकारी खेती गर्दै आएका नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को रामग्राम–४ का कृषक रामानन्द कोइरीलाइ । दोस्रो लहरको कोभिड १९ नियन्त्रण तथा रोकथामका लागि निषेधाज्ञा जारी भएपछि तरकारी बिक्री गर्न नपाएको उनको गुनासाे छ । स्थानीय हाटबजारहरुमा आफैं तरकारी बिक्री गर्दै आएका कोइरीले कोरोना भाइरसको महामारी शुरु भएपछि विगत दुई वर्षदेखि विशेषगरी मुलामा ठूलो घाटा व्यहोर्नुपरेको गुनासो गरेका छन् । राज्यको यसमा ध्यान गएको छैन ।

उनको तरकारी बारी त लटरम्म छ । तर, बजार खै ? उनले मुला, काउली, खुर्सानी, बन्दा, धनिया, गाजर ,आलु, प्याजलगायत खेती गरेका छन् । बजार लैजान नपाएपछि कि त बारीमै नष्ट गर्नुपर्ने कि त सस्तो मूल्यमा बेच्नुपर्ने बाध्यतामा पुगेको कोइरी बताउँछन् । यसवर्ष तीन कठ्ठा भन्दा बढीमा लगाएको तीन क्विन्टल बढी मुला नोक्सान भएको उनले बताए ।गत वर्ष पनि उत्पादन भएको ८० प्रतिशत मुला बारीमा नष्ट गर्नुपरेको उनकाे दुखेसो छ । जाेतेर नष्ट गर्नुको विकल्पै नभएको उनी गुनासाे गर्छन् ।

प्रकाशित मिति: बिहिबार, जेष्ठ ६, २०७८