बिहिबार, बैशाख १३, २०८१

प्रतिवन्धित पशुपन्छीका औषधी बजारमा कसरी विक्री भईरहेको छ ?

काठमाडौं । नेपालमा पशुपन्छीका लागि औषधी आयात गर्ने करीव ढेडसय भन्दा बढी आतातकर्ताहरुले गैरकानूनी ढंगले सरकारद्धारा प्रतिवन्धित पशुपन्छी औषधीहरु आयात गरी विक्री वितरण गर्ने पाइएको छ ।

सरकारले प्रतिवन्ध लगाएका पशुपन्छीका औषधी पनि अहिले खुल्मखुल्ला विक्री वितरण भईरहेको देखिन्छ । पशुपन्छी औषधी आयातका लागि सरकारी झण्झटिलो प्रक्रियाका कारण पनि आयातकर्ताहरुले गैरकानूनी ढंगले औषधीहरु आयात गरी विक्री वितरण गर्ने गरेको पाइएको हो ।
काठमाडौं केन्द्रित आयातकर्ताहरुले मात्र होइन चितवन, वीरगञ्ज, भैरहवा, पोखरा, नेपालगञ्ज, कैलाली, जनकपुरसम्मका आयातकर्ताहरुले पशुपन्छीको औषधी गैरकानूनी ढंगबाट लुकिछिपी ल्याउने गरेको औषधी व्यवस्था विभागले जनाएको छ ।

औषधी व्यवस्था विभागका सूचना अधिकारीले दिएको जानकारी अनुसार पशुपन्छीका औषधीहरुका नाममा आयातकर्ताहरुले नेपालमा दर्ता नभएका र प्रतिवन्ध लगाएका एण्टिवायोटिकहरु आयात गरी विक्री गरेको देखिएको हो ।

सरकारले विगतमा प्रतिवन्ध लगाएकै कोलिस्टिन सल्फेट समूहको पशु औषधी बजारमा प्रशस्त विक्री भएको देखिन्छ । औषधी व्यवस्था विभाग, पशु सेवा विभाग र आयातकर्ताहरु समेतको मिलेमतोमा यस्ता प्रतिवन्धित पशुपन्छीका औषधीहरु विक्री वितरण भईरहेको देखिन्छ । जुन मानव स्वास्थ्यका लागि समेत हानिकारक भएको पुष्टि भएको छ ।

प्रकाशित मिति: मङ्लबार, चैत्र ३१, २०७७