मङ्लबार, बैशाख ४, २०८१

किन चाहियो कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा दुई सचिव ?

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा हाल दुई सचिव कार्यरत छन् । सो मन्त्रालयको कृषि तर्फ डा योगेन्द्र कार्की सचिवमा रुपमा कार्यरत छन् भने पशुपन्छी तर्फ पेम नारायण कँडेल ।

यस अघि केपी शर्मा ओली प्रधानमन्त्री बन्नका लागि सहयोग गर्ने राजनीतिक दललाई समेत मन्त्रीको भागबण्डा सहज गराउनका लागि कृषि विकास मन्त्रालयलाई विभाजन गरी कृषि र पशुपन्छी विकास मन्त्रालय बनाएको थियो ।

कृषि मन्त्रालय विभाजन गरेर पशुपन्छी विकास मन्त्रालय खडा गरे पश्चात सो मन्त्रालयमा पहिलो सचिवका रुपमा डा कृष्णचन्द्र पौडेल सचिवका रुपमा आएका थिए । पछिल्लो प्रतिनिधि सभाको निर्वाचन पश्चात मुलुकलाई संघीय संरचनामा तीन तहको सरकार बन्यो । त्यस पश्चात संघमा २२ भन्दा बढी मन्त्री नरहने व्यवस्था भएसँगै पशुपन्छी विकास मन्त्रालयलाई पुन कृषि मन्त्रालयमा नै गाभेर कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा स्थापित गरियो तर मन्त्रालयमा दुई सचिव कायम नै रहे ।

हुन त विगतमा दुई वटा मन्त्रालय र सम्पूर्ण कार्य केन्द्रबाट नै गर्नु पर्ने अवस्थाका कारण दुई वटा सचिव राख्नु स्वभाविक देखिएपनि अहिले भने त्यसलाई स्वभाविक मान्न सकिँदैन । तीन तहको सरकार बनिसकेपछि कृषि तथा पशु सेवाको कार्य स्थानीय तहमा गईसकेको छ । जिल्लामा रहेका सेवा केन्द्र समेत खारेज भईसकेको वर्तमान अवस्थामा केन्द्रमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा दुई सचिव आवश्यक पर्ने देखिँदैन ।

संघमा रहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा हाल विद्यमान दुई सचिवको दरवन्दी केवल सचिवको संख्या बढाउने बाहेक अरु केही पनि हुन सक्दैन । कृषि तथा पशुपन्छी सेवा एउटै भएको र दुवै को विभाग समेत छुट्टाछुट्टै भएको अवस्थामा दुई सचिवको औचित्य छैन ।

वास्तविक रुपमा भन्ने हो भने संघीय संरचना अनुरुप स्थानीय तहमा कृषि तथा पशु सेवाको सम्पूर्ण अधिकार गईसकेको र स्थानीय तहलाई प्रदेश सरकारले हेर्ने भएकाले कृषि विभाग र पशु सेवा विभागको समेत औचित्य समाप्त भईसकेको छ । त्यसकारण पनि कृषि मन्त्रालयको वर्तमान संरचना, कार्य क्षेत्र वा अधिकारलाई समेत मध्यनजर गर्ने हो भने एक मात्र सचिव दरवन्दी राखेर राज्यलाई आर्थिक भार कम गराउँदा उपयुक्त हुन्थ्यो होला की ?

प्रकाशित मिति: मङ्लबार, चैत्र ३१, २०७७