बुधबार, बैशाख ५, २०८१

किसानलाई व्यवसायिक बनाउँदै ठुलीभेरी नगर

जाजरकोट। कृषकको जीवनस्तरमा सुधार ल्याउनका लागि ठुलिभेरी नगरपालिका डोल्पाले ‘एक घर, एक बगैँचा’ कार्यक्रम शुरु गरेको छ । नगरपालिकाको आफ्नो बजेटबाट यी योजना सम्पन्न गर्न मुस्किल पर्ने भन्दै प्रदेश र सङ्घीय सरकारसँगको सहकार्यलाई उच्च प्राथमिकता दिइएको प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर रानाले जानकारी दिए । नगरपालिकाले आफैँले पहिलो चरणमा वडा ५ देखि ११ सम्मका कृषकको मागमा आधारित सात हजार ओखरका बिरुवा वितरण गरी कृषकलाई व्यावसायिकरूपमा खेती प्रणालीमा जोड दिएको छ ।

उच्च माग भएका कारण सबै खालका व्यवसाय तथा उत्पादनमा जोड दिन खोजे पनि पर्याप्त सिँचाइ सुविधा तथा मल प्रयोगमा समस्या हुने गरेको छ । कृषकमा प्राविधिक ज्ञान नहुँदा ओखरका बिरुवा जोगाउन कठिन परेको बताइएको छ । ओखरको मूल्यभन्दा ढुवानी बढी खर्च हुने डोल्पामा ओखरका बिरुवा समुद्रपारिबाट खरिद गरी ल्याइएको हो । छोटो समयमा प्रतिफल पाउने भएकाले च्याङ्लर जातको ओखरका बिरुवा टर्कीबाट ल्याइएको अधिकृत रानाको भनाइ छ । त्यस्तै कृषि विकास कार्यालयले समेत पकेट क्षेत्रका रूपमा ठुलीभेरी नगरपालिकामा ओखरका बिरुवा वितरण गरी सहयोग गरेको उनको भनाइ छ ।

नगरपालिकाभित्रका जनसाधारणलाई तरकारी तथा फलफूल उत्पादन गर्न सघाउ पुगोस् भनेर विभिन्न अनुदानका कार्यक्रमसमेत सञ्चालन गरिएका छन् । अघिल्ला वर्षहरूदेखि कृषकमैत्री कार्यक्रममा जोड दिई उत्पादनमा जोड दिइएको उनको भनाइ छ । सधैँ जिल्ला बाहिरबाट आयात गरेर मात्र उपभोग गर्नुपर्ने वातावरणलाई न्यूनीकरण गरी नगरभित्रका कृषकले उत्पादन गरेको फलफूललाई स्थान दिई आर्थिकरूपमा समेत सक्षम बनाउनका लागि उत्पादनमुखी योजनामा जोड दिइएको अधिकृत रानाले जानकारी दिए ।

विभिन्न औषधि प्रयोग गरेर तरकारीजन्य वस्तु प्रयोग गर्दा मानव स्वास्थ्यमा पर्ने असरलाई न्यूनीकरण गर्नका लागि विषादीको प्रयोग कम गर्न सचेतनामूलक कार्यक्रमलाई प्राथमिकता दिएर काम गरिएको छ । जैविक उत्पादकत्वमा जोड दिनुका साथै त्यस्ता उत्पादनलाई अनुदानसमेत दिइएको बताइएको छ । बेमौसमी तरकारीबाली उत्पादनलाई जोड दिँदै नगरभित्रका उत्पादनशील भूभागमा माटोको जाँच गरी उत्पादनलाई जोड दिइएको अधिकृत रानाले बताए । खाद्यान्न, फलफूल, तरकारी, दूध, मासु र अण्डा प्राप्तिको मुख्य केन्द्रका रूपमा स्थापित गर्नका लागि नगरपरिषद्बाट योजना नै पास गरेर कार्यान्वन गरिएको हो ।

कृषि पेशालाई व्यावसायीकरण र आधुनिकीकरण गर्नका लागि साझेदार निकायसँग उच्चतमको सहकार्य गरेर युद्धस्तरमा काम भएको नगरप्रमुख गणेश शाहीले जानकारी दिए । सामूहिक खेती र सहकारी खेती प्रणालीलाई प्रोत्साहित गरी सबै कृषकलाई आत्मनिर्भर बनाउने योजना रहेको उनले बताए । नगरपालिकाले कृषकलाई उन्नत जातको बीउबिजन र मल वितरणमा आवश्यक सहयोग गरिरहेको छ । कृषि तथा पशुपालन क्षेत्रमा राम्रो काम गर्ने उत्कृष्ट कृषकलाई छनोट गरी पुरस्कृत गर्ने व्यवस्था गरेसँगै कृषि तथा पशुपालन व्यवसायमा उत्साहजनक काम भइरहेको बताइएको छ ।

त्यस्तै नगरभित्र स्याउ उत्पादन हुने क्षेत्रमा स्याउ उत्पादनका लागि सहयोग तीव्र पारिएको अधिकृत रानाले जानकारी दिए । ओखर र स्याउका लागि हावापानी सुहाउँदो जातका फलफूलका बिरूवा वडाको मागअनुसार नै वितरण तथा रेखदेख गरिएको छ । जग्गा चक्लाबन्दी कार्यक्रमलाई विशेष प्राथमिकतामा राखेर काम थालनी भएको छ । त्यस्तो प्राथमिकता तोक्दा व्यक्ति वा समूहले न्यूनतम १० रोपनी जमिन ९एउटै क्षेत्रफलमा रहेको० तयार बनाई ल्याएमा त्यस्तो काम थालनी गर्ने कृषकलाई लागत साझेदारीमा समावेश गर्ने र त्यस्तालाई कृषि उद्यमी घोषणाको कामलाई उच्च प्राथमिकता दिइने छ ।

खेर गइरहेको निजी बाँझो जग्गा उपयोग गर्न कृषकलाई प्रोत्साहित गर्नुका साथै पशुपक्षी फार्म स्थापनाका लागि वडामा हावापानी सुहाउँदो पशुवस्तुको पहिचान गरी प्रत्येक वडामा एक÷एकवटा पशुपक्षी फार्म स्थापना गर्दै जाने योजना कार्यान्वनमा लगिएको छ । ठूलो भूभाग कम जनसङ्ख्या भएका कारण काम गर्न मुस्किल भएको नगरपालिकाले जनाएको छ । नगरपालिकाको केन्द्रको विवादका कारण विकास निर्माणमा समस्या आएको भए पनि अहिले सो समाधानको नजिक पुगेसँगै विकासका कामले तीव्रता पाएका हुन् ।

अघिल्लो वर्ष कृषि विकास कार्यालयले १५ हजार ओखरका बिरुवा वितरण गरेको थियो । टर्कीबाट च्याङ्लर जातको ओखर खरिद गरेर वितरण गरिएको हो । जगदुल्ला गाउँपालिका, मुड्केचुला गाउँपालिका, त्रिपुरासुन्दरी नगरपालिका, ठुलीभेरी नगरपालिका र काइके गाउँपालिकामा च्याङ्लर जातको ओखरका बिरुवा उपभोक्ता समूहमार्फत वितरण गरिएको थियो ।

प्रकाशित मिति: आइतवार, चैत्र १५, २०७७