बिहिबार, चैत्र १५, २०८०

कृषिमा आधुनिकीकरण र यान्त्रिकीकरणका नाममा कृषिमारा नीति कहिलेसम्म

काठमाडौं । पछिल्लो समयमा नेपाली कृषि क्षेत्रमा प्रविधि विस्तारका नाममा किसान माथि ब्रम्हलुट हुँदा पनि कृषि तथा पशुपन्छी विकास मन्त्रालय र मातहतका कार्यालयहरु भने किसानलाई जोगाउने कार्यमा संलग्न भएको देखिँदैन । विशेष गरी कृषि यान्त्रिकीकरण वा आधुनिकीकरणका नाममा किसानहरुमाथि व्यापारी र सरकारी कर्मचारीकै मिलेमतोमा लुटको खेती भईरहेको देखिन्छ ।

विगतमा प्रविधिका नाममा र आधुनिकीकरणका नाममा अनुदान दुरुपयोग भएको चर्चा भईरहेको भएपनि कृषि विकास मन्त्रालयले विभिन्न आयोजना तथा कार्यक्रम मार्फत प्रविधि विस्तार भन्दै अनुदान वितरण गर्ने काम भने रोकिएको छैन । यही अनुदानको रकममा व्यवसायीहरुसँगको मिलेमतोमा ब्रम्हलुट मच्चाउने काम विद्यमान छ । जसका कारण किसानहरु ठगिन वाध्य भएका छन् । सरकारले अनुदानमा के मा दिने कति दिने भन्ने यकिन गर्न नसक्दा यस्तो अवस्था आएको हो ।

पछिल्ला वर्षहरुमा कृषि क्षेत्रमा कृषि यान्त्रिकीकरणका नामबाट प्रविधि विस्तार गरिजस्तो देखिएको छ । तर त्यसले सार्थक रुप हासिल गर्न सकेको भने देखिंदैन । जवसम्म सार्थक परिणाम आउँदैन तवसम्म जति कार्य गरिएपनि त्यो केवल परीक्षण मात्र हो भन्दा फरक नपर्ला । किनकी त्यसले उपलब्धी हासिल भएको देखिँदैन । नेपालमा अहिले कृषि प्रविधिको प्रयोग ठगी खाने व्यापारीहरुका लागि महत्वपूर्ण कार्य देखिएको छ । दोव्वर तेव्वर मूल्य राखेर सरकारी अनुदान मार्फत रकम असुल्ने गरिएको पाइन्छ ।

हुन त यस्ता विषयमा बेला बेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुक्ष्म अध्ययन गरिरहेको र कार्वाही गरेका घटना पनि छन् ।यद्यपी ती त्यत्तिकै सेलाउँदै आईरहेका छन् । नेपाली कृषि क्षेत्रका प्रविधि विस्तार र कृषि यन्त्रको प्रयोगका बढाउनका लागि कृषि विकास मन्त्रालयले कृषि इन्जिनियरिङ्ग निर्देशनालयले नै खडा गरेको थियो । अहिले संरचना परिवर्तनसँगै सो कार्यालय खारेज भईसकेको छ । सो कार्यालयले गरेका काम हेर्ने हो भने धेरै कर्मचारी अख्तियारको फन्दामा पर्ने अवस्था पनि देखिएको छ । तर कार्यालय खारेजीसँग त्यहाँ भित्रको भ्रष्टाचार पनि लुकेको छ ।
विगमा कृषि इन्जिनियरिङ्ग निर्देशनालयले कृषि यान्त्रिकरणलाई बढावा दिन नसकेकै कारण अहिले सो कार्यालय नै मर्ज गरेको भन्ने कर्मचारीहरु पनि भेटिन्छन् । त्यही कार्यालयकै कारण धेरै कृषिका यन्त्र व्यापारीहरु रातारात करोडपति बन्न सफल भएका छन् भने दर्जनौ कृषिका हाकिमहरु पनि कमिशनको खेलोमा रमाउँदै करोडपति बन्न सफल भए । तर नेपाली किसान कहिल्यै पनि माथि उठ्न सकेनन् । प्रविधि विस्तारबाट किसानको उन्नति किन भएन ?

किसान टाट पल्टने व्यापारीहरु रातारात कसरी फस्टाए भन्ने कुरा सरोकारवालाहरुले कहिल्यै पनि ध्यान दिएको पाइएन । त्यही ध्यान दिन नसक्दा उत्पादकत्व बृद्धि गर्न हम्मे हम्मे परिरहेको देखिन्छ ।

अहिले कृषि मन्त्री पद्मा अर्यालले पनि फेरि प्रविधिका कुरा र कृषि आधुनिकीकरणका कुरा उठाईरहँदा कृषिको अनुदान यान्त्रिकीकरणमा कति र कुन विषयमा दिने भन्ने कुरा किसानको आवश्यकतामा होइन । हाकिम र व्यापारीको मिलेमतोमा तयार गरिएको कार्यक्रम अनुसार हुने गरेको छ । आगामी आर्थिक वर्षका लागि यतिखेर कार्यक्रम बनाउने तयारी गरिहँदा विगतको गल्ती फेरि पनि नदोहोरिएलक की ।

प्रकाशित मिति: आइतवार, चैत्र १५, २०७७