शुक्रबार, चैत्र १६, २०८०

बंगलादेशबाट युरिया मल आए पनि अभाव कायमै रहने

काठमाडौं । लामो समय रासायनिक मल अभाव खेपिरहेका किसानहरुले बंगलादेशबाट मल आयो भन्ने समाचार सुनेर दंग नपर्दा हुन्छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पटक पटकको प्रयास पछि युरिया मल जिटुजीको माध्यमबाट आयात गरेको भएपनि नेपालमा मलको अभाव भने प्रशस्तै देखिएको छ ।

करीव एक वर्ष युरिया मल अभाव देखिएपनि अहिले थोरै मात्रामा राहत मिलेको देखिन्छ । तर, बंगलादेशबाट आयात गरिएको मलको परिमाणले नेपालका लागि मल प्रशस्त भने होइन ।

सरकारले युरिया मल ल्याएपनि डिएपी मलका अभाव अझै पनि छ । अन्तर्राष्ट्रिय बजारमा मलको मूल्य बृद्धि भएसँगै नेपालमा मलको अभाव देखिन सक्छ । बंगलादेशबाट जिटुजी प्रक्रियाबाट ल्याएको युरियामल उत्तरी नाका हुँदै भित्रिएको समाचार जसरी संप्रेषण गरिएको छ त्यसले नेपालको माग अनुरुप धान्न सक्छ कि सक्दैन भन्ने विश्लेषण भने गरिएको छैन ।

त्यसो त नेपाली किसानहरुले युरिया मात्र प्रयोग गर्ने पनि होइन । रासायनिक मल भनेर युरियामात्र हो भन्ने बुझाईले समस्या पर्ने गरेको छ । यद्यपी बंगलादेशबाट ल्याएको ५० हजार मेट्रिक टन युरियाले आउँदो धानका लागि त पुग्दैन नै । त्यससँगै डिएपी मलको अभाव पनि उत्तिकै छ ।
मलको अभावलाई परिपूर्ति गर्नका लागि तात्कालिन कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले जुन भूमिका निर्वाह गरे त्यसकै परिणाम अहिले वर्तमान कृषि मन्त्री पद्मा अर्याल सातै प्रदेशमा मल भण्डारण गर्ने डिङ्ग हाँकिरहेकी छिन् ।

५० हजार मेट्रिक टन युरियाले सातै प्रदेशमा पुग्ला र ? भन्ने नै हो भने जिटुजी प्रक्रियाबाट नेपाल भित्रिएको युरिया मलमा वर्तमान कृषि मन्त्रीले जस मात्र लिने हो उनको कुनै पनि भूमिका छैन । कृषि विकासका अन्य काम गर्न नसकेपनि मल आयातका लागि भुसाल कै योगदान छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले डिएपी मलको अभाव परिपूर्ति गर्नका लागि खासै भूमिका भने खेलेको छैन । युरियाको चर्चा गरिरहँदा डिएपीको अभावका कारण मन्त्रालयले नै त्यसलाई गुमचुप राखेको कृषि विज्ञहरुको भनाई छ ।

प्रकाशित मिति: मङ्लबार, चैत्र ३, २०७७