बिहिबार, बैशाख १३, २०८१

पोल्ट्री व्यवसायी आफै विचौलिया बन्दा कुखुरापाल्ने किसान मारमा

काठमाडौं । पोल्टि क्षेत्रमा नेपाल आत्मनिर्भर भईरहँदा त्यसमा संलग्न किसानहरुको भने रुवाबासी नै चलेको छ । विशेष गरी कुखुरा पालन व्यवसाय गरी रहेका किसानहरु दाना उद्योगीहरुका कारण घर न घाटको हुने बेला आएको छ ।

स्वरोजगारका लागि कुखुरा पालन व्यवसाय गर्ने किसानहरु दाना मालिकहरुका कारण कहिल्यै पनि माथि उठ्न सक्ने अवस्था देखिएको छैन । पछिल्लो समय दाना उद्योगी र चल्ला उत्पादकहरु समेतको मिलेमतोमा कुखुरा पालन गर्ने किसानहरुलाई यस्तो चँगुलमा फसाइएको छ कि किसानले आफू फसेको पत्तै पाएका छैनन ।

कुखुरा पाल्ने किसानहरुलाई चल्ला तथा दाना उधारोमा दिने र कुखुरा विक्री योग्य भएपनि आफूले बजारीकरण गर्ने सर्त समेत राखेर किसानमारा नीति पोल्टी व्यवसायीहरुले लिएका छन् । कुखुरा पालन गरिरहेका किसानहरुका समस्याका बारेमा खासै कसैले पनि चासो नदिएका कारण किसानहरु मारमा परेका छन् ।

तिनै पोल्टी व्यवसायीहरुको सिण्डिकेटका कारण किसानहरु माथि उठ्न नसकेका हुन् । सकेसम्म किसानहरुलाई निःशुल्क काम लगाई रहने र आफूहरु मस्त मोटाउने नीति पोल्टी व्यवसायीहरुको देखिन्छ । कुखुराको मूल्य यतिखेर किसानहरुले भन्दा पनि तिनै सिण्डिकेटधारी पोल्टी व्यवसायीहरुले तोकिरहेका छन् । जव किसानहरुले मूल्य पाउने बेला हुन्छ । त्यसबेला कुनै झण्झट दिएर भएपनि उचित मूल्य दिनबाट बञ्चित गर्दै आईरहेका छन् ।

कालीमाटी तरकारी बजारमा विचौलियाको सिण्डिकेट भए जस्तै कुखुरा व्यवसायमा पनि विचौलिया पोल्टी व्यवसायी आफै बनेका छन् । कुखुरा पाल्न किसानलाई लगाउने राम्रो भयो भने आफू कमाउने रोग वा संक्रमणले कुखुरा मरे किसानलाई तिराउने किसिमले अहिले व्यवसाय फस्टाएको देखिन्छ । यसरी किसानमारा नीतिमा अगाडि बढेको पोल्टी व्यवसायी महासंघका पदाधिकारीहरु यस विषयमा बोल्न नै चाहँदैनन् । किसान भने जति संघर्ष गरेपनि कुखुरा पालनबाट फाइदा नभएको स्वीकार गर्दछन् तर कारण खोज्दैनन ।

प्रकाशित मिति: बिहिबार, फाल्गुन २७, २०७७