शुक्रबार, बैशाख ७, २०८१

एकद्धार प्रणालीको गफ दिँदै ‘पाहुना’ कृषि मन्त्री पद्मा अर्याल

काठमाडौं । केपी ओली नेतृत्वको कामचलाउ सरकारमा भुमि व्यवस्था, सहकारी तथा गरीवी मन्त्रालयबाट कृषि मन्त्रीमा सरुवा भएर आएकी कृषि तथा पशुन्छी विकास मन्त्री पद्मा अर्यालले किसान सेण्टर एकद्धार प्रणाली मार्फत गर्ने तयारी गर्न लागेको भन्दै डिङ्ग हाँकिछन् ।

मिडियामा यो वा त्यो नाममा आईरहन रुचाउने कृषि तथा पशुपन्छी विकासमन्त्री अर्यालले मन्त्रालयमा पत्रकार बोलाएर कृषिको सूचना व्यवस्थित गर्ने भन्दै किसान सेण्टर मार्फत एकद्धार प्रणाली स्थापना गर्ने तयारी गरेको दिनुसम्मको गफ दिईन् ।

नेपालमा ६५ प्रतिशत जनता कृषिमा आश्रित छन् भनेर सरकारले नै तथ्यांक सार्वजनिक गर्दा नेपालमा कति किसानहरु वास्तविक किसान छन् भन्ने थाहा नपाएरै होला कामचलाउ कृषि मन्त्री अर्यालले २० प्रतिशत किसानहरुले प्रविधिको प्रयोग गरेको भन्दै हावा तथ्यांक पत्रकारसामु प्रस्तुत गरिन् ।

उनकै गृह जिल्ला स्याङ्गजाका २ प्रतिशत किसानहरुले समेत प्रविधिको प्रयोग गर्न सकेका छैनन । तर मन्त्री अर्याल २० प्रतिशत किसान प्रविधिको पहुँचमा भन्दै डिङ्ग ठोक्छिन् ।

कृषि पत्रकारहरुसँग कुरा गर्दै मन्त्री अर्यालले प्रविधिको प्रयोग गर्ने किसानहरुको संख्या बृद्धि गर्दै कृषि सूचना व्यवस्थापन गर्न किसान सेण्टर एकद्धार प्रणाालीको स्थापना गर्ने, कृषि भित्र रहेको मिलिजुली ठेकेदारी प्रथा, अनुदानको विकृति तोड्ने पनि बताईन् ।

मन्त्री अर्याललाई एउटै प्रश्न मन्त्रीको निर्वाचन क्षेत्रमा मात्र अहिलेसम्म कृषि विकास मन्त्रालयका विभिन्न आयोजनाहरु, हिजोको जिल्ला कृषि विकास कार्यालय, अहिलेको कृषि ज्ञान केन्द्र, जिल्ला पशु अस्पताल तथा ज्ञान केन्द्रले दिएका अनुदान करोडौं गएको छ त्यो छानविन गर्ने साहस मन्त्रीसँग छ ?

कृषि सूचनालाई व्यवस्थित नै गर्ने नाममा अर्को दुईचार जना कार्यकर्ताहरुलाई जागिर दिने हो भने मन्त्रालय मातहतमा नै रहेको कृषि सूचना तथा प्रशिक्षण केन्द्र खारेज गरे भैगो नि त ? सरकारले करोडौ खर्च गरेर स्थापना गरेको कृषि सूचना तथा प्रशिक्षण (साविकको सूचना तथा सञ्चार) केन्द्रले अहिलेसम्म के गरिरहेको छ । त्यहाँको बजेट कसरी हजम हुने गरेको छ त्यो पनि एक पटक अध्ययन गर्ने कि ?

किसानहरुले मल पाएका छैनन्, रासायनिक मलको सिण्डिकेट र माफियासँगको मिलेमतोमा सरकार रमाईरहेको छ । तर, मन्त्री अर्यालयले कृषि मन्त्री भएर आएकै दिन सातै प्रदेशमा मल भण्डारण गृह खोल्ने आवश्वासन दिईसकेकी छिन् । मन्त्री अर्यालजी किसानहरुलाई मल चाहिएको हो भण्डारण गृहको रित्तो भवनले उत्पादन हुँदै हुँदैन विचार गर्ने कि ?

किसानहरुले गुणस्तरीय बीउमा अभावमा छट्पाईरहेका छन्, तर मन्त्री बीउ व्यापारीसँग डिनर गर्न सोल्टी होटल पुग्नुलाई के भन्ने ? यो पनि एकद्धार प्रणालीमा आउला कि नआउला ? कृषि मन्त्रीले गफ होइन किसानका आवश्यकता पूरा गर्ने हो भने मात्र कृषि उत्पादन र उत्पादकत्व बृद्धि गर्न सकिन्छ अन्यथा प्रधानमन्त्री ओलीले भने जस्तै लामालामा चामल आयात गर्नुको विकल्प छैन ।

प्रकाशित मिति: शनिबार, फाल्गुन १५, २०७७