बिहिबार, बैशाख १३, २०८१

अवैध रुपमा पशुपन्छीको औषधी आयात, व्यवसायी संघका पदाधिकारीहरु नै संलग्न

काठमाडौं । नेपालमा पशुपन्छीका औषधी आयात अवैध रुपमा हुने गरेको फेला परेको छ । पशुपन्छीका लागि प्रयोग हुने औषधीलाई फिड सप्लिमेण्टका नाममा स्वीकृत लिएर अवैध रुपका कारोबार हुने गरेको औषधी व्यवस्था विभागले जनाएको छ ।

पशुपन्छीको औषधी अवैध कारोबार गर्नेहरुमा पशुपन्छी औषधी व्यवसायी संघका अध्यक्षदेखि पदाधिकारीहरु नै बढी संलग्न भएको भेटिएको हो । काठमाडौंमा मुख्य आयातकर्ताहरुपमा देखिएका पशपन्छी औषधी व्यवसायी संघका अध्यक्ष भुपेन्द्र गौतमदेखि संघमा निर्वाचित पदाधिकारीहरु नै अवैध कारोबारमा गर्नेको लिष्टमा देखिएका छन् । उनीहरुले पशुपन्छीका लागि आवश्यक पर्ने क्याल्सियमदेखि औषधीसम्म पनि नेपालमा स्वीकृत नभएका बढी आयात गर्ने गरेको देखिएको छ ।

पशु सेवा विभागको सिफारिसलाई आधार बनाएर बाहिर लेवल एउटा र भित्र बस्तु अर्कै हुने गरी आयात गर्ने गरिएको पशु स्वास्थ्य क्षेत्रका कार्यरत चिकित्सकको भनाई छ । विशेष गरी पशुपन्छी औषधी व्यवसायी संघमा रहेका पदाधिकारीहरु नै यसमा संलग्न हुने गरेको उनको आरोप पनि छ ।

पशु चिकित्सको आरोप र बजारमा उपलब्ध अवैध रुपमा विक्री गरिएका पशुपन्छीको औषधीका विषयमा आयातकर्ता समेत रहेका पशुपन्छी औषधी व्यवसायी संघका अध्यक्ष भूपेन्द्र गौतमले खुल्ला सिमाका कारण अवैध रुपमा त्यस्ता औषधीहरु आउन सक्ने बताए । गौतमले खुल्ला सिमाका कारण भनिरहँदा उनकै कम्पनीले आयात गरी विक्री वितरण गरिरहेको केही गैरकानूनी ढंगले आयात गरिएको पशु औषधी कृषि अनलाईनलाई फेला परेको छ ।

श्रोतका अनुसार पशुपन्छी औषधी व्यवसायी संघका पदाधिकारीहरु नै अत्यधिक औषधी आयातकर्ताहरु भएका कारण, पशु सेवा विभाग, औषधी व्यवस्था विभागका उच्च कर्मचारीहरुसँगको मिलमतो र आर्थिक प्रलोभनमा कतिपय नेपालमा आयात स्वीकृत नपाएका पशुपन्छीका औषधीहरु फिड सप्लिमेण्टका नाममा ल्याउने गरिएको देखिन्छ ।

प्रकाशित मिति: मङ्लबार, फाल्गुन ११, २०७७