शनिबार, बैशाख ८, २०८१

कृषि मन्त्रीको तरकारी बजार अनुगमन,जुन जोगी आएपनि कानै चिरेका

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री पद्माकुमारी अर्यालले कालिमाटी फलफूल तथा तरकारी बजारको अवस्था प्रभावकारी नभएको भन्दै फोहोर व्यवस्थापन र स्टल व्यवस्थापन गर्न समितिका कर्मचारीलाई निर्देशन दिएकी छिन् ।

मंगलबार कालिमाटीस्थित तरकारी बजारमा अनुगमन गर्न पुगेकी मन्त्री अर्यालले बजारको स्टल र सरसफाईको कार्यलाई व्यवस्थित गर्ने कार्यतालिका सहित फागुन १ गते मन्त्रालयमा उपस्थित हुन कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका कर्मचारीलाई कडा निर्देशन दिएकी हुन् ।

अनुगमनका क्रममा मन्त्री अर्यालले तरकारी, माछा स्टलको भाडा मूल्यलगायतका विषयमा जानकारी लिएकी थिइन् । उनले मन्त्रालयले किसान र बजारलाई प्रत्यक्ष जोड्ने विधि बनाउने बताउँदै किसानको पसिनाको उचित मूल्य उपलब्ध गराउने आश्वासन समेत दिइन् ।

बजार र किसानलाई प्रत्यक्ष जोड्ने विधिको निम्ति मन्त्रालयले सोच बनाइसकेको भन्दै मन्त्री अर्यालले उत्पादित वस्तुको बजारीकरणको व्यवस्था गर्नु आजको आवश्यकता भएकाले किसानलाई बजारको व्यवस्थापन गर्न उत्पादित वस्तुको बजारको ग्यारेन्टी सरकारले गर्ने बताइन् ।

विगतमा पनि कृषि तथा पशुपन्छी विकास मन्त्रीका रुपमा पुगेका मन्त्रीहरु कालीमाटी तरकारी बजार अनुगमन गर्ने र यस्तै खाले आश्वासन मात्र दिने तर काम नगर्ने गरेको व्यवसायीहरुको गुनासो छ । मन्त्रीहरु आउने स्टल व्यवस्थापनदेखि फोहोर व्यवस्थापनसम्मको कुरा गर्ने तर काम नगर्ने भएकाले यस्ता अनुगमनलाई जुन जोगी आएपनि कानै चिरेका भन्नुको विकल्प नरहेको व्यवसायीहरुको गुनासो छ ।

प्रकाशित मिति: मङ्लबार, माघ २७, २०७७