शुक्रबार, चैत्र १६, २०८०

धान उत्पादन कमी भएको निहुँ गर्दै चामलमा अत्यधिक मूल्य बृद्धि

वीरगञ्ज । कोरोना महामारीका कारण धानको उत्पादनमा परेको असरको प्रभाव अहिले चामलको मूल्यमा देखिएको छ । धानको उत्पादन र गुणस्तर दुवै घटेपछि चामलको मूल्यमा चाप परेको उद्यमीहरूले बताएका छन् । खाद्यान्न उत्पादन र आपूर्तिको मुख्य केन्द्र मानिएको बारा र पर्साका उद्योगीले चामलको उत्पादन लागत ह्वात्तै बढेको बताए । नेपाल चामल दाल तेल उद्योग संघका अध्यक्ष सुबोधकुमार गुप्ताका अनुसार कोरोनाले धान उत्पादनमा परेको प्रभाव चामल उत्पादनमा देखा परेको छ ।

कोरोनाका कारण मल र सिँचाइको अभाव भएकाले धानको उत्पादन र गुणस्तर दुवै खस्किएको उद्यमीले बताए । भारतमा यो वर्ष धानको उत्पादन घटेको र मूल्य बढेकाले पनि चामल उत्पादनमा त्यसको असर देखिएको गुप्ताको भनाइ छ ।

नेपालमा चामल उत्पादनको खपत हुने आधाभन्दा बढी परिमाणको धान भारतबाट भित्रिन्छ । नेपालमा खाद्य संस्थाले धान खरीद गरेकाले पनि मूल्य बढेको उद्यमीहरूको भनाइ छ । संस्थानले प्रतिक्वीन्टल २ हजार ८ सय रुपैयाँमा धान किनेको छ ।

उद्योगीले यो वर्ष अहिले नै सोना मन्सुली धानको मूल्य प्रतिक्वीन्टल २ हजार ७ सय रुपैयाँसम्म तिरेर आयात गरेका छन् । गोरखनाथ धान २ हजार ८५० र जीरा बासमती ३ हजार ५० रुपैयाँ प्रतिक्वीन्टलमा खरीद भइरहेको उद्योगीहरूले बताए ।

धानको मूल्य बढ्नु र मलखाद र सिँचाइ नपाएका कारण धान कुट्दा कनिका बढी निस्किएको उद्यमीले बताए । ‘सामान्यतः ८ प्रतिशतसम्म कनिका आउनेमा यस वर्ष २२ देखि २५ प्रतिशतसम्म पुगेको छ । एक त धानको मूल्य नै बढेको छ, अर्कातिर कनिका बढी निस्किएपछि चामलको लागतमा चाप परेको छ,’ मोहित एग्रो इन्डस्ट्रिजका प्रबन्ध निर्देशकसमेत रहेका गुप्ताको भनाइ छ ।

अघिल्लो वर्ष कात्तिकरमङ्सिरसम्ममा हुने मूल्य यसपालि २ महीनामै बढिसकेको उद्यमी बताउँछन् । अहिले ३० किलो सोना मन्सुली चामलको कारखाना मूल्य १ हजार ४५० रुपैयाँ छ ।

गोरखनाथ र जीरा चामलको २५ केजीको बोराको क्रमशः १ हजार ४०० र १ हजार ५०० रुपैयाँ छ । ‘अघिल्ला वर्षहरूमा नयाँ धान भिœयाउने मङ्सिरसम्म यो मूल्य पुग्थ्यो । अहिले नयाँ धान आएको २ महीनामै नबित्दै मूल्य आकाशिएको छ,’ एक उद्यमीले आर्थिक अभियानसित भने ।

चामलको मूल्य बढेका कारण भारतबाट चामलको आयात बढेको उद्यमीले बताएका छन् । भारतीय सीमावर्ती क्षेत्रमा खुलेका ठूलो लगानी र क्षमताका उद्योगले सस्तो चामल पठाउन थालेपछि स्वदेशी उद्योगलाई झन् समस्या थपिएको न्यू ओम खाद्य उद्योगका प्रबन्ध निर्देशक विश्वामित्रप्रसाद कलवारले गुनासो गरे ।

‘बारा र पर्सामा करीब २ सयओटा सानाठूला चामल उद्योग भए पनि वीरगञ्ज र आसपासको बजारमा स्वदेशी ब्रान्डका चामल देखिँदैनन्,’ कलवारले भने, ‘स्वदेशी बजारमा भारतीय चामलले कब्जा जमाएको छ ।’

स्वदेशी उत्पादनको लागत बढी पर्दा भारतबाट आयात बढेको गुप्ताको भनाइ छ । त्यहिँमाथि सीमावर्ती भारतीय क्षेत्रबाट अवैध रूपमा भित्रिने चामलका कारण थप संकट परेको उद्योगीहरू बताउँछन् । प्रहरी प्रशासनका स्थानीयदेखि केन्द्रीय निकायसम्म यसरबारेमा जानकारी गराए पनि नियन्त्रणमा प्रभावकारी प्रयास नभएको उनीहरूको भनाइ छ ।स्वदेशी उद्योगले धानको भुस विक्रीबाट लागत घटाउने प्रयास गरेकोमा भारतबाट अवैध रूपमा भित्रिने भुसका कारण यस्तो बजार पनि सखाप भएको कलवारले बताए । मुख्य नाकाबाटै अवैध रूपमा भुस भित्रिँदासमेत भन्सार कर्मचारी र प्रहरी मौन बसेको कलवारको आरोप छ । – ओमप्रकाश खनाल

प्रकाशित मिति: सोमवार, माघ २६, २०७७